टिचिङको आइसीयूमा रहेका मोहन वैद्यको स्वास्थ्य अवस्था सुधार
काठमाडौं। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मोहन वैद्य किरणको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ। आईसीयूमा उपचार भइरहेका ७८ वर्षीय वैद्यको स्वास्थ्य अवस्थामा सुधार आएकोले छिट्टै उनलाई वार्डमा स्थानान्तरण गर्ने विषयमा छलफल भइरहेको बताइएको छ।
पारिवारिक स्रोतका अनुसार उनको बोली सामान्य रहेको छ। डाक्टरहरूले एक–दुई दिनभित्रै उनलाई सामान्य वार्डमा सार्न सकिने बताएका छन्। तर अक्सिजनको मात्रा बेलाबेलामा घटबढ हुने गरेका कारण हाल उनलाई आईसीयूमै राखिएको छ।
पुस दोस्रो सातादेखि श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको हो। पछिल्लो समय उनको स्वास्थ्यमा सुधार देखिएको पारिवारिक स्रोतले जनाएको छ।