नरहरिनाथ गाउँपालिकामा साझा यातायातको बुकिङ काउन्टर उद्घाटन, यात्रु सुविधा थपिने अपेक्षा

कालिकोट। कालिकोटको नरहरिनाथ गाउँपालिकामा साझा यातायातको बुकिङ काउन्टर स्थापना गरिएको छ। यातायात व्यवस्थापनलाई सहज बनाउन र यात्रु सेवामा प्रभावकारीता थप्न उद्देश्यले स्थापित काउन्टरको उद्घाटन एक विशेष कार्यक्रमका बीच सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि वडा नं. ३ का अध्यक्ष कटक ब बुढाले सार्वजनिक यातायातको सञ्जाल विस्तार र यात्रु सेवाको गुणस्तर सुधार गर्न यस काउन्टरले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

साथै, उहाँले गाडी चालक र संचालकहरूप्रति प्रशंसा व्यक्त गर्दै नागरिकहरूलाई सुविधाजनक र सुरक्षित यात्रा सुनिश्चित गर्न सबै पक्षलाई जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्नुभयो।

कार्यक्रमका अध्यक्ष तथा भिजिट कर्णालीका इन्चार्ज छत्र ब बिस्टले यो कदमलाई ऐतिहासिक उपलब्धि भन्दै सबै पक्षलाई यसलाई सफल बनाउन सहकार्यको अपिल गर्नुभयो।

उनले स्थानीयस्तरमै यस्तो संरचना स्थापना हुनुले पर्यटन र यातायात क्षेत्र दुवैलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। इलाका प्रहरी कार्यालय कुमालगाउँका इन्चार्ज गोबिन्द्र बिक्रम शाहले यातायात व्यवस्थापन र सुरक्षा सुदृढ बनाउन प्रहरीले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमका क्रममा विभिन्न रुटका भाडादरसमेत निर्धारण गरिएको छ, जसले यात्रुहरूलाई पूर्वजानकारी र सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

यो बुकिङ काउन्टर स्थापनासँगै स्थानीय स्तरमा यातायात सेवा सुलभ र व्यवस्थित हुने विश्वास लिइएको छ। यात्रुहरूको सुविधा र स्थानीय विकासको यो प्रयासलाई अझ प्रभावकारी बनाउन सबैको साथ र सहयोग आवश्यक रहेकोमा जोड दिइएको छ।