बीआरआईमा कतै ‘ऋण’ शब्द भेटिँदैन: परराष्ट्रमन्त्री

काठमाडौं। परराष्ट्रमन्त्री आरजु राणा देउवाले केही दिनअघि चीनसँग भएको ‘बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्क’ (बीआरआई) सम्झौतामा कतै पनि ‘ऋण’ शब्द नभएको स्पष्ट पारेका छन्।

सोमबार बसेको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले ऋण लिने गरी बीआरआई सम्झौता नभएको दाबी गरे । उनले भने, ‘२० हजारपटक अध्ययन गरेर तयार पारेको दस्तावेजमा ‘ऋण’ शब्द छैन, एकसयपटक पढ्नोस्, ऋण शब्द भेटिँदैन ।’

सम्झौतामा ‘ग्रान्ट’को ठाउँमा ‘एड’ शब्द राखिएको उनले बताए । ‘ग्रान्ट’ र ‘एड’को अर्थ एउटै भएको दाबी उनको थियो।ग्रान्ट र एडमा फरक छैन। अर्थ एउटै हो, परराष्ट्रमन्त्री राणाले भने।

उनले विश्वास नलागे विभिन्न डिक्सनेरी हेर्न समितिका सदस्यहरूलाई सुझावसमेत दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले गत मंसिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गरेका थिए।

भ्रमका बेला नेपाल र चीनबीच बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कलगायत १० वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।