माइती नेपालको अक्षय कोषमा एक करोड सहयोग गर्ने प्रधानमन्त्रीको घोषणा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपालको अक्षय कोषमा एक करोड सहयोग गर्ने घोषणा गरेका छन्। गौशालास्थित केन्द्रीय कार्यालयमा सोमबार स्थलगत अवलोकनपछि उनले सो रकम सहयोगको घोषणा गरेका हुन्।
सरकारले नै गर्नुपर्ने काममा यस संस्थाले सघाइरहेकाले यसको अक्षय कोष वृद्धि गर्ने घोषणा प्रधानमन्त्रीले गरेको उनको सचिवालयले जनाएको छ।
घोषणाअघि प्रधानमन्त्री ओलीले सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँगको छलफल गरेका थिए ।माइती नेपाल चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत छ ।
प्रधानमन्त्री ओलीले अवलोकनमा क्रममा देखेका र सुनेका समस्यालाई समाधानका लागि सरकारका तर्फबाट गम्भीरतापूर्वक पहल गर्ने विश्वास दिलाउँदै सो संस्थाका काम र प्रयासप्रति प्रशंसा व्यक्त गरेका थिए ।
उनले नागरिकको रक्षा र हेरचाहको जिम्मेवारी सरकारको भए पनि विविध सीमा र कतिपय अप्ठ्याराका कारण गर्न नसकिएका कामलाई यस्ता संस्थाले निरन्तरता दिएकामा सन्तोष व्यक्त गरे।
अवलोकनका क्रममा प्रधानमन्त्री ओलीले संस्थामा महिलाको उद्धार गरी ल्याइएका महिलाका लागि सञ्चालित पुनःस्थापना गृह, बाल संरक्षण गृह, एचआईभी उपचारको एआरटी केन्द्र, टेरेसा एकेडेमी स्कुुललगाययत स्थल पुुगेका छन्।