माघ १६ गते आमसभा गर्ने समाजवादी मोर्चाको निर्णय
काठमाडौं । समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा आमसभा गर्ने निर्णय गरेको छ।बुधबार बसेको मोर्चाको बैठकले माघ १६ गते काठमाडौंमा समाजवादी मोर्चाको तर्फबाट आमसभा कार्यक्रम गर्ने निर्णय भएको विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले जानकारी दिए।
त्यस्तै, यसबीचमा समाजवादी मोर्चाका बैठक र कार्यक्रम सुस्त भएकोबारे गम्भीर समीक्षा भएको पनि प्रवक्ता विश्वकर्माले जानकारी दिए। ‘हाम्रा पार्टीका आन्तरिक कामका कारण समाजवादी मोर्चा थोरै धिमा गतिमा बस्यो,’ उनले भने, ‘अब त्यसलाई अघि बढाउने प्रतिबद्धता भएको छ।
समाजवादी मोर्चाका सबै गतिविधि र कामको संश्लेषण गरेर प्रतिवेदन तयार पार्ने काम अन्तिम चरणमा रहेको उनले जानकारी दिए। शीर्ष नेताहरूलाई उक्त प्रतिवेदन हस्तान्तरणको काम पनि चाँडै हुने उनले बताए।