रवि र छविविरुद्ध रुपन्देही अदालतमा आज मुद्दा दर्ता हुँदै

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले आज बुटवलको सुप्रिम सहकारी ठगीसम्बन्धी पुरक मुद्धा जिल्ला अदालतमा दर्ता गर्दैछ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी लगायतलाई सहकारी ठगी र संगठित अपराधको कसुर अनुसारको कारवाही र बिगो माग गर्दै सरकारी वकिलले रुपन्देही अदालतमा पूरक मुद्धा दर्ता गर्न लागेको हो।

यसअघि सर्वोच्च अदालतमा पठाइएको सक्कल फाइल आउन ढिलाइ भएको भन्दै सरकारी वकिलले शुक्रबार अदालतमा पूरक मुद्धा लैजान नसकेको जनाएको थियो ।

आज ९आइतबार० भने कार्यालय खुलेपछि लामिछाने र जोशी लगायत १४ जना विरुद्ध पुरक मुद्धा अदालतमा दर्ता गरिने जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेलले जानकारी दिए ।

जिल्ला सरकारी वकिल कार्यालयले सुप्रिम सहकारीका एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध २०८१ वैशाख ३ गते जिल्ला अदालतमा मुद्धा दर्ता गरेको थियो ।

त्यतिबेला सहकारी ठगीसम्बन्धी मात्र कसुर लगाई १ अर्ब ३ करोड मात्र बिगो माग गरेको थियो । त्यसमध्ये १७ जनालाई पनि सहकारी ठगी र संगठित अपराधको कसुर र बिगो थपसहितको मुद्दा दर्ताको लागि बिहीवार अदालतमा पेश गरेको थियो ।

आइतबार लैजाने पूरक मुद्धामा सुप्रिम सहकारीबाट लामिछानेले २ करोड र जिबी राई सम्बद्धहरुको नामबाट १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको उल्लेख छ ।

यसअघि इलाका प्रहरी कार्यालय बुटवलले गत पुस २६ गते नै लामिछानेसहितका व्यक्तिलाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीमा बुझाएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोगपत्र तयार गरेको हो ।