सरकार असफल भइसक्यो: अध्यक्ष प्रचण्ड

धनुषा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार असफल भइसकेको बताएका छन्।
‘जनतासँग माओवादी तराई–मधेश जनजागरण अभियान’ जारी रहेकै बेला आज काठमाडौं फर्किने क्रममा जनकपुर विमानस्थलमा प्रचण्डले संसदमा ल्याइएका अध्यादेशलाई गलत ढंगले टुंग्याएकाले सरकार असफल भइसकेको बताए।
दाहालले तराई–मधेश जनजागरण अभियान रोकिएको भन्ने चर्चा अफवाह मात्र रहेको भन्दै अभियान केही समय स्थगित मात्र गरिएको बताए।
उनले संसदमा उपस्थित हुनका लागि र पार्टी बैठकका लागि काठमाडौं जानुपर्ने भएकाले केही दिन अभियानलाई बिराम दिइएको बताए।
फागुन १२ गतेदेखि झापाबाट सुरु भएको माओवादीको तराई–मधेश जनजागरण अभियान सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही हुँदै रौतहटसम्म पुगेको थियो।