८ महिनामा ५ लाख ३४ हजारबढी नेपाली विदेशिए
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) मा कामको खोजीमा झन्डै साढे ५ लाख युवाले देश छाडेका छन्।
वैदेशिक रोजगार विभागका अनुसार फागुनमा मात्र ६८ हजार ९ सय ६३ युवाले श्रम स्वीकृति लिएका छन्। योसँगै यस वर्ष कुल ५ लाख ३४ हजार ४ सय ७१ युवाले देश छाडेको देखिन्छ।
यो संख्या गत आव २०८०/८१ को यसै अवधिको तुलनामा ६३ हजारभन्दा धेरै हो। अघिल्लो वर्ष ८ महिनामा ४ लाख ७१ हजार युवाले श्रम स्वीकृति लिएको देखिन्छ। यो नयाँ तथा पुनः श्रम स्वीकृति लिने युवाको संख्या हो।
नेपालबाट अहिले मासिक औसत ६६ हजार ८ सय ८ युवा काम खोज्दै विदेशिने गरेका छन्। प्रतिदिन औसत २ हजार २ सय २७ युवाले देश छाडेको देखिन्छ।
यस वर्ष नेपालीको प्रमुख गन्तव्य खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (यूएई) रहेको छ। विभागका अनुसार फागुनमा मात्र यूएईका लागि २५ हजार १ स य१७ जनाले श्रम स्वीकृति लिएका छन् । योसँगै ८ महिनामा यूएईका लागि कुल १ लाख ७३ हजार २ सय ५० जनाले श्रम स्वीकृति लिएका छन्।
यस वर्ष विदेशिएका कुल युवामध्ये यूएई गएको संख्या ३२।४१ प्रतिशत छ । यूएईपछि साउदी अरब, कतार,कुवेत,मलेसिया प्रमुख गन्तव्य रहेको देखिन्छ ।
यद्यपि, यस वर्ष मलेसियाको रोजगारीमा भने भारी गिरावट आएको छ। गत वर्ष प्रमुख गन्तव्य मलेसिया रहेकोमा यस वर्ष पाँचौं स्थानमा झरेको छ । यस वर्ष फागुनमा जम्मा ३ हजार ७ सय १५ युवाले मात्र मलेसियाका लागि श्रम स्वीकृति लिएको देखिएको छ ।
जापानमा १ हजार ९ सय ६६ र कोरियामा १ हजार ८ सय ८३ जनाले श्रम स्वीकृति लिएका छन् । क्रोएसिया, रोमानिया, ओमान, बहराइन समेत धेरै नेपाली श्रम गर्न जाने देशमा पर्छन्।