नेपाल प्रहरीको ३१ औं आईजीपीमा दिपक थापा नियुक्त

काठमाडौं । नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक (आईजीपी) मा दिपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) थापालाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गर्ने निर्णय गरेको एकजना मन्त्रीले हाम्राे अनलाइनलाइ जानकारी दिए।

सोमबार राति १२ बजेपछि ३० वर्षे सेवा अवधिका कारण ३० औं आईजीपी वसन्त कुँवर अवकाशमा जाँदैछन्। त्यसको पूर्वसन्ध्यामा सरकारले थापालाई आईजीपीमा नियुक्त गरेको हो। प्रहरी आईजीपी बन्नका लागि थापासँगै एआईजी टेकबहादुर तामाङ र सुदीप गिरी प्रतिस्पर्धामा थिए।

नवनियुक्त प्रहरी आईजीपी थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को नेतृत्व गरिरहेका थिए। तामाङ उपत्यका प्रहरी कार्यालय,रानीपोखरी र गिरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा रहेका थिए।

प्रहरी नियमावली, २०१२ मा सरकारले उपयुक्त देखेका उम्मेदवारलाई प्रहरी महानिरीक्षकमा बढुवा गर्न सक्ने उल्लेख छ। त्यही कारण प्रहरी प्रमुख बन्नका लागि बढुवाको अन्तिम समयसम्म आकांक्षीहरुबीच राजनीतिक समर्थन जुटाउन दौडधुप चल्ने गर्छ।

यसपटक पनि तिनै जना आकांक्षीले अन्तिम समयसम्म आफ्नो पक्षमा समर्थन जुटाउने प्रयास गरेका थिए। यद्यपि, सरकारले पहिलो वरियतामा रहेका थापालाई नै आईजीपी बनाएको छ। 

त्यस्तै केही समय अगाडि मात्र गृहमन्त्री रमेश लेखकले सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको बिदाइ गरिसकेका छन्।