आज यी स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं। हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको समेत आंशिक प्रभावले कोशी, मधेस र बागमती प्रदेशमा आंशिक बदली छ। बाँकी भूभागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। कोशी र मधेश प्रदेशका केही स्थानमा हुरीबताससमेत चल्ने सम्भावना छ।
त्यसैगरी, आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने विभागले जनाएको छ।
आगामी २४ घण्टामा गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।
साथै अपराह्नको समयमा कोशी र मधेस प्रदेशका केही स्थानमा हुरीबतास चल्ने सम्भावना रहेको विभागले जनाएको छ।