उत्पादनमा जोड्न महिलालाई बाख्राका पाठी र बोका वितरण

वालिङ। स्याङ्जाको वालिङ नगरपालिका–१ का महिलाहरुलाई उत्पादनमा जोड्न बाख्राको बीउ पाठी वितरण गरिएको छ। स्थानीय साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका सदस्यहरुलाई बीउ पाठी तथा बीउ बोका वितरण गरिएको हो ।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम अन्र्तगत भोकालाई एक छाक भोजन होईन,जिउने जुक्ति सिकाऔँ भन्ने मुलनाराका साथ वालिङ नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग तथा दियालो संस्थाको व्यवस्थापनमा सञ्चालन भईरहेको वालिङ कृषि विकास परियोजना अन्तरगत बीउका रुपमा पाठापाठी वितरण गरिएको हो।

कार्यक्रममा बोल्नुहुँदै वडा नं.१ का वडाअध्यक्ष तथा नगरप्रवक्ता पदमराज गुरुङले महिलाहरुलाई उत्पादनमा जोड्न बाख्रा वितरण गरिएको बताउनु भयो।

साना किसानलाई उत्पादनमा जोड्न सके मात्रै महिलाहरु आर्थिक रुपमा सवल हुने उहाँको भनाई छ । ग्रामीण क्षेत्रको विकासका लागि महिलाउत्पादनमा जोडिन जरुरी रहेको वडा अध्यक्ष गुरुङले बताउनु भयो ।

बाख्राको नस्ल सुधार गरि आम्दानी बढाउन पाठीसँगै बोका वितरण गरिएको वालिङ नगरपालिकाको पशुसेवा शाखा प्रमुख डाक्टर रोशन बस्यालले बताउनु भयो।

नस्ल सुधारका लागि कृषकलाई सचेत गराउने र पालिकाले सहयोग गर्ने काम भईरहेको उहाँको भनाई छ। डाक्टर बस्यालले बाख्रा पालका क्रममा आई पर्ने समस्या र यसको सही निराकरणका बारेमा कृषकलाई जानकारी समेत गराउनु भयो।

कार्यक्रम अन्तरगत साहारा बाख्रापालन स्वावलम्वी महिला कृषक समूहका २१ जना सदस्यहरुलाई पाठापाठी वितरण गरिएको परियोजनाले जनाएको छ। समूहका अधिकांस सदस्यहरु दलित महिला रहेका छन्। उनीहरुलाई आवश्यक तालिम सिकाउँदै उत्पादनमा जोड्ने परियोजनाले जनाएको छ।

कार्यक्रमका कार्यपालिका सदस्य सीता बिक, वडा सदस्यहरु शोभाकान्त काफ्ले,सम्भव अर्याल,खिना काफ्ले समूह की अध्यक्ष सुधा बिक लगायतले बाख्रा पालन र वडा कार्यालयले गरिरहेको क्रियाकलापका बारेमा जानकारी गराउनु भएको थियो।

वालिङ नगरपालिकाको वडा नं.१ देखि ७ सम्म सञ्चालन भएको परियोजनाले महिला तथा साना किसानलाई उत्पादनमा जोड्न विभिन्न क्रियाकलाप गर्दै आएको छ ।