शिक्षक महासंघको आन्दोलन नरोकिने

फाइल तस्बिर

काठमाडौं । नेपाल शिक्षक महासंघले जारी आन्दोलनलाई निरन्तरता दिने भएको छ। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन जारी रहने जानकारी दिएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बजेट अधिवेशन आह्वान गर्ने र संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने निर्णय गरेको थियो। यससँगै सरकारले शिक्षकहरूलाई आन्दोलनका कार्यक्रम रोक्न आग्रह गरेको थियो।

तर, महासंघले आफूहरूले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिएको निष्कर्ष निकाल्दै प्रदर्शनलाई निरन्तरता दिने जनाएको छ।

महासंघका अध्यक्ष सुवेदीले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,देश भरिका सबै साथीहरू आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईँलाई काठमाडौँको आन्दोलनको मोर्चामा पर्खिरहेका छौँ। यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ। तुरुन्तै काठमाडौँ आइपुग्नुहोला ।

आन्दोलन अपडेटः २०८२ बैशाख ३
हिजो बैशाख २ गतेको आन्दोलनमा सहभागी सबै साथीहरुलाई धन्यवाद । आज बैशाख ३ गते सदा झैं ठिक १२ः०० बजे माइतीघर मण्डला आइपुग्नु होला । हाम्रो आन्दोलन जारी छ ।
आदरणीय साथीहरु,
१.अब हामी निर्णायक मोडमा आइपुगेका छौं । हामीले उठाएका विषयमा राज्य यथावत् अनुदार देखिन्छ । त्यसैले अझ बढी प्रतिबध्दता र सहभागिताका साथ आन्दोलन अघि बढाउनुको विकल्प छैन ।
२.देश भरिका सबै साथीहरु आन्दोलनको यो निर्णायक घडीमा हामी तपाईंलाई काठमाडौंको आन्दोलनको मोर्चामा पर्खिरहेका छौं । यो आन्दोलनले तपाईंको सक्रिय सहभागिता खोजिरहेको छ । तुरुन्तै काठमाडौं आइपुग्नुहोला ।
३.अनधिकृत विचार, अफवाह, षडयन्त्र र भ्रामक समाचार प्रति सचेत रहनुहोला ।
“मेरो आन्दोलन, मेरो सहभागिता ।”
“बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलन बलियो उपलब्धि ।”