११ वर्षीया बालिका बलात्कृत आरोपमा, ६३ वर्षीय पोखरेल पक्राउ

काठमाडौं,मंसिर २३। देशभर लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान चलिरहेकै बेला उदयपुरमा ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । सोमबार दिउँसो बालिका बलात्कार आरोपमा जिल्लाको बेलका नगरपालिका ९ रामपुरका ६३ वर्षीय सूर्य पोखरेल पक्राउ परेका हुन् ।

 

दिउँसो करिव ३ बजे बालिकालाई ललाईफकाई रामपुरस्थित सिटी हलको शौचालयमा लगेर बलात्कार गरेको आरोपमा पोखरेल पक्राउ परेको इलाका प्रहरी कार्यालय रामपुरका इन्सपेक्टर हरि खड्काले बताए ।

 

प्रहरीका अनुसार रामपुर बजार हिडेकी बालिकालाई सिटी हल नजिक कोही नभएको मौकामा ललाई फकाई जवरजस्ती गरेको उजुरीका आधारमा पोखरेल पक्राउ परेका हुन् ।

 

पक्राउ पोखरेललाई मंगलबार जिल्ला अदालत उदयपुरबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । हिंसाविरुद्धको १६ दिने अभियान सकिन ४ दिन मात्र बाँकी रहँदा बालिका बलात्कार हुनुले समाज डरलाग्दो अवस्थातर्फ गएको देखिन्छ।

 

‘लैंगिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ गत नोभेम्बर २५ देखि यही डिसेम्बर १० मंसिर २५ सम्म चलाइएको अभियान अन्तरगत हरेक स्थानीयतहमा पनि हिंसाविरुद्ध जनचेतना अभिबृद्धिका कार्यक्रम भईरहेका छन् ।

 

हिंसाविरुद्ध अभियान चलिरहेकै बेला त्यो पनि नगरपालिका केन्द्र बजारमा भएको यस्तो घट्ना दुःखदायी भएको प्रतिक्रिया अभियन्ताहरुले दिएका छन् ।