नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै: देशव्यापी आन्दोलन चर्काउने एजेण्डामा छलफल हुँदै

काठमाडौं,मंसिर २५ । नेपाली कांग्रेसले मंसिर २९ गते सरकाविरुद्ध गर्न लागेको विरोध प्रदर्शनलाई व्यवस्थित गर्नेबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएको छ ।

 

कांग्रेसले सरकारविरुद्ध हुन गइरहेको देशव्यापी विरोध प्रदर्शनको रूपरेखा तय गर्न बिहीबार बिहानका लागि पदाधिकारी बैठक बोलाएको हो।

 

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आज पदाधिकारी बैठक बस्ने जानाएका  छन्। सरकाविरुद्ध हुन गइरहेको देशव्यापी आन्दोलनको कार्यक्रम र आन्तरिक विषयवस्तुका बारेमा छलफल गर्न बिहीबार पदाधिकारी बैठक बस्न लागेको हो।

 

 अहिले अन्य विषयमा भन्दा पनि हामी २९ गतेको आन्दोलनलाई व्यवस्थित बनाउने, प्रभावकारी बनाउने विषयमा केन्द्रित हुन्छौं।मंसिर १९ गते बसेको पदाधिकारी बैठकले सरकारविरुद्ध ७७ वटै जिल्लाहरूमा मंसिर २९ गते विरोध प्रदर्शनको निर्णय गरेको थियो।

 

तनहुँमा मंसिर १७ गते सरकारले प्रस्तुत गरेको दमनकारी व्यवहारलगायत देशका विभिन्न भागमा पटक–पटक सरकारबाट गरिएका विभेद, पक्षपात र सर्वसत्तावादी प्रवृत्ति तथा कोभिड–१९ को नियन्त्रण र उपचारमा सरकारले देखाएको उदासीनता र अकर्मण्यता तथा स्वास्थ्य सामग्री खरिदमा गरिएको भ्रष्टाचारदेखि अनेकौं भ्रष्टाचार काण्ड र बेथितिविरुद्ध विरोध प्रदर्शन गरिन लागेको कांग्रेसको भनाइ छ ।

 

पदाधिकारी बैठकले राष्ट्रिय रूपमा उठेका प्रश्नहरूसँगै देश र जनताका ज्वलन्त विषयहरूमा छलफल गर्न संघीय संसद्को बैठक बस्न अत्यावश्यक भएको भन्दै संसद् बैठक अविलम्ब बोलाउन सरकार र सभामुखसँग माग पनि गरेको थियो ।