उर्जा बचत गरेवापत राष्ट्रिय वाणिज्य बैंकद्धारा विभिन्न कम्पनीलाई अनुदान रकम हस्तान्तरण

काठमाडौं,मंसिर २९ । राष्ट्रिय वाणिज्य बैंकद्धारा जर्मन सरकारबाट KFW  बैंक मार्फत प्राप्त अनुदान सहयोगमा संचालित ‘Energy Efficiency Program Nepal’ को अनुदान सहयोग कार्यक्रम अन्र्तगत रकम हस्तान्तरण गरेको छ ।

 

बैंकले पशुपति आइरन एण्ड स्टीललाई एक करोड, बोटलर्स नेपाललाई ५२ लाख ९४ हजार, बागमती आयल इन्डष्ट्रिजलाई ४३ लाख ३५ हजार, हिमाल आइरन एण्ड स्टीललाई सात लाख ३४ हजार र इस्ट एशियन प्लाष्टिक इन्डष्ट्रिजलाई दुई लाख ४० हजार रकम हस्तान्तरण गरेको छ ।

 

मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेको हुँदा स्विकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदान प्रदान तथा अनुदान रकमको चेक सोमबार एक समारोहका बीच हस्तान्तरण गरिएको हो ।

 

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक हस्तान्तरण गर्दै अन्य उद्योगहरुलाई उर्जा बचत गर्ने कार्यमा लगानी गरी यस कार्यक्रममा सहभागी हुन आव्हान गरे । उहाँले हालसम्म १७ वटा उद्योगहरुलाई छ करोड ७४ लाख रुपैंया भन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

 

नेपाल सरकार र जर्मन सरकार बीच सन् २०१० मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौता बमोजिम राष्ट्रिय वाणिज्य बैंकले ‘Energy Efficiency Program Nepal’आयोजना कार्यन्वयनको लागि Project Executing Agency (PEA) को रुपमा सहायता सम्बन्धि कार्य गर्ने गरेको छ ।

 

यस आयोजना अन्तर्गत नेपालमा संचालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशत सम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइने बैंकले जनाएको छ ।

 

यस आयोजना अन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी उर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्विकृत अनुदान कार्यविधि भित्र रही अधिकतम रु। १ करोड सम्मको सहायता रकमका लागि दरखास्त दिन पाइनेछ ।