तीन दलको निश्कर्ष : संसद् विघटन संविधान विरोधी र अलोकतान्त्रिक भएको ठहर

काठमाडौं,पुस ६। नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र नेकपाका प्रचण्ड–नेपाल समूहले सरकारको सिफारिसमा राष्ट्रपतिले संसद् विघटन गर्नु अलोकतान्त्रिक र संविधान विरोधी कार्य भएको निश्कर्ष निकालेका छन्।

 

संसद विघटनबारे साझा धारणा बनाउन बसेको सर्वदलीय बैठकले संसद विघटन संविधानको मर्ममा प्रहार भएको पार्टीकाे निश्कर्ष रहेको छ।

 

नेपाली कांग्रेस मुख्यालय सानेपामा बसेको बैठकले संविधानले दिँदै नदिएको अधिकार प्रधानमन्त्रीले प्रयोग गर्नु निरंकुश बन्ने सपना भएको ठहर गरेका छन्। बैठकले संसद विघटनको संयुक्तरुपमा प्रतिवाद गर्ने नेताहरूले बताएका छन्।

 

संसद विघटनको निर्णय विरुद्ध तीन वटै पार्टीले एकतावद्ध भएर अगाडि बढ्ने समझदारी पनि गरेका छन् । कांग्रेस नेता रमेश लेखकले प्रधानमन्त्रीको कदम विरुद्ध तीनवटै पार्टी एकमत भएको बताए ।

 

त्यस्तै बैठकमा नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा.शशांक कोइराला र पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु— बालकृष्ण खाँण, डा. मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी थिए ।

 

नेपाल कम्युनिष्ट पार्टीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खानाल, नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, वर्षमान पुन र कृष्णभक्त पोखरेल सहभागी भएका थिए ।

 

 त्यस्तै जनता समाजवादी पार्टीबाट अध्यक्ष महन्थ ठाकुर, नेता शरतसिंह भण्डारी, सर्वेन्द्रनाथ शुक्ल, उमाकान्त झा र जितेन्द्र सोनल बैठकमा सहभागी थिए । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार संसद विघटन गर्दै नयाँ निर्वाचनकाे मिति घोषणा गरिएकाे थियाे ।