संसदीय व्यवस्थाको विकल्प जनगणतन्त्र : सीपी गजुरेल

काठमाडौं,पुस ७ । नेकपा (क्रान्तिकारी माओवादी)का स्थायीसमिति सदस्य तथा देजमाे नेपालका अध्यक्ष  सीपी गजुरेलले अब आफूहरुले जनगणतन्त्र स्थापनाको लागि लडाइँ लड्ने उद्घोष गरेका छन् ।

 

संसद् विघटन प्रतिगामी कदम भए पनि आफूहरु त्यसको पुनःस्थापनाको पक्षमा नरहेको उनले प्रष्ट पारे ।मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले संसदीय व्यवस्था देशका निम्ति अभिसाप भएको जिकिर गरे ।

 

नेपाली भूमिमा बारम्बार हुने आन्दोलनका उपलब्धिहरु खेर जानु र पुनः देश अस्थिरतामा जानुको मूल कारण नै संसदीय व्यवस्था रहेको २३ दलीय मोर्चाको नेतृत्वकर्तासमेत रहेका गजुरेलको तर्क छ ।

 

यो व्यवस्थाकै खारेजमा जानु उचित छ,उनले भने ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफू सत्ता र शक्तिमा रहनका निम्ति संकटकालको समेत तयारी गरेको उनको दाबी छ ।

 

‘तपाइँहरु अर्को आन्दोलन या संघर्ष भन्दै हुनुहुन्छ, जनताले किन लड्ने ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, “हो हामी पनि त्यही भनिरहेका छौँ । बारम्बार घुमिफिरी संसदीय व्यवस्थाको निम्ति होइन, अन्तिम लडाइँ यो वर्तमान व्यवस्था र जनगणतन्त्रका लागि लडौँ भन्ने हो ।

 

गजुरेलले थपे, अहिले ओली असफल भन्ने गरिन्छ । तर, उनीमात्रै होइन, सिंगो लोकतान्त्रिक गणतन्त्र फेल भएको हो । संसदीय व्यवस्थाभित्र देशी–विदेशी शक्तिहरुले खेल्ने र जनविरोधी दलालहरु मोटाउने र पोसिने रक्षाकवज हुन्छ ।

 

त्यसको एकमात्र स्थायी निकास जनगणतन्त्र हो ।गजुरेलले आफ्नो पार्टीसहितको २३ दलीय मोर्चाले छिट्टै संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए ।