‘संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’ : सीपी गजुरेल

काठमाडौं,पुस ८ । संसदीय व्यवस्थाको विकल्प संघीय जनगणतन्त्र’ भन्ने मूल नाराका साथ आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य तथा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका अध्यक्ष सीपी गजुरेलले अग्रगामी विकल्पका पक्षधर शक्तिहरु संघीय जनगणतन्त्रको एजेण्डामा आउनुको विकल्प नरहेको बताउनु भएको छ ।

 

क्रान्तिकारी माओवादीको नेवाः राज्यले बुधबार काठमाडौंको रत्नपार्क शान्तिबाटिकामा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष सीपी गजुरेलले भन्नुभयो, “प्रधानमन्त्री केपी ओलीको संसद विघटनको कदम प्रतिगामी कदम हो ।

 

यो ओली सरकारको मात्र नभएर समग्र संसदीय व्यवस्थाको असफलता हो । अब अग्रगामी विकल्पको रुपमा संघीय जनगणन्त्रको एजेण्डामा अगाडि बढ्नुको विकल्प छैन । अब अग्रगामी विकल्पका पक्षधर शक्ति तथा व्यक्तिहरु संघीय जनगतन्त्रको ऐजण्डामा नआई सुखै छैन ।”

 

अध्यक्ष गजुरेलले विगतमा भएको जनयुद्ध, जनआन्दोलन, मधेश आन्दोलन तथा आदिवासी जनजाति आन्दोलन लगायत समग्र युद्ध र आन्दोलनको एजेण्डा संघीय जनगणन्त्र नै भएको स्मरण गर्दै ओलीले संसद विघटन गरेपछि विकसित राजनीतिक परिस्थितिमा संघीय जनगणन्त्रको आवश्यकता र यसको सान्दर्भिकता अझ बढेर विश्लेषण गर्नुभयो ।

 

जनताले वर्तमान संसदीय सत्ता, व्यवस्था र संविधानको विकल्प खोजिरहेको बेलामा ओलीले संसद विघटन गरिदिएपछि अब संघीय जनगतन्त्रको एजेण्डा अग्रगामी राजनीतिक शक्तिहरुको साझा एजेण्डाको रुपमा स्थापित हुँदै जाने पनि विश्वास व्यक्त गर्नुभयो ।

 

अध्यक्ष गजुरेलले सच्चा देशभक्त र क्रान्तिकारी शक्तिहरु एकताबद्ध भएर अगाडि बढ्ने उपयुक्त बेला आएको भन्दै छरिएर रहेका सबै कम्युनिस्ट क्रान्तिकारीहरुलाई एकताबद्ध भएर अगाडि बढ्न पनि आव्हान गर्नुभयो ।

विरोधसभालाई सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पोलिटब्यूरो सदस्य तथा ३ नं. प्रदेशका इन्चार्ज दिनेश शर्मा सागरले ओलीले चालेको प्रतिगामी कदमप्रति आफ्नो पार्टीको सरोकार नभए पनि ओलीको कदमले आफ्नो पार्टीले भन्दै आएको र गर्दै आएको विश्लेषणलाई साबित गरेको भन्दै संसदीय व्यवस्थाको औचित्य ओलीले नै समाप्त पारिदिएको दाबी गर्नुभयो ।

 

उहाँले अब संघीय जनगणतन्त्रको अपरिहार्यता अझ बढेर गएको भन्दै अग्रगामी राजनीतिक परिवर्तनका पक्षधर शक्तिहरु यही एजेण्डामा आउनुपर्ने आवश्यकता औल्याउनु भयो ।

 

संसदको पुनस्र्थापनाले मुलुकमा उत्पन्न संकट र समस्याको समाधान नगर्ने भन्दै संसदवादी दलहरुलाई पनि संघीय जनगणतन्त्रको एजेण्डामा आउन आव्हान गर्नुभयो ।

 

पार्टी पीवीएम पवनमान श्रेष्ठले सञ्चालन गरेको विरोधसभालाई अखिल नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष प्रा।डा।ओम गुरुङले पनि सम्बोधन गर्नुभएको थियो ।

 

उहाँले उत्पीडित वर्ग र समुदायले आफ्नो मुक्तिका निम्ति अब एक ढिक्का भएर संघीय जनगणतन्त्र प्राप्तिको आन्दोलनमा आ–आफ्नो ठाउँबाट मोर्चा कस्ने बेला आएको बताउनु भयो ।विरोधसभामा नेकपा (क्रान्तिकारी माओवादी) देजमो, जबस मोर्चाका नेता कार्यकर्ताहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।