आजदेखि नयाँ वर्ष सन् २०२१ शुरु
काठमाडौँ,पुस १७। ग्रेगोरियन पात्रो अनुसार आजदेखि नयाँ वर्ष अर्थात इस्वी सन् २०२१ शुरु भएको छ ।जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको सुरुवात् भएको भन्ने भनाइ रहेको छ ।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ । जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए ।
विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्व प्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटीले बताउनुभयो ।
विवाद भएपनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ । यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
विदेशी पर्यटकको भीड भाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरालगायत स्थानमा ‘न्यू इयर’का अवसमार विभिन्न कार्यक्रमको आयोजना गर्ने गरिन्छ ।
कोरोना महामारीका कारण नयाँ वर्ष समेत प्रभावित बनेको छ । सन् २०२० मा कोरोना महामारीले विश्वका अरु मुलुकहरुझैँ नेपाललाई पनि शिथिल बन्यो ।
जनवरीको दोस्रो साता नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिएको थियो । सेप्टेम्बरको अन्तिम साताबाट तीव्ररुपमा फैलियो । अक्टोबरको पहिलो सातादेखि मृत्युदर बढ्न थाल्यो ।
नोभेम्बर पहिलो साता संक्रमणदर घटे पनि मृत्युदर बढेर गयो । अक्टोबरको अन्तिम सातादेखि डिसेम्बर पहिलो सातासम्म कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या धेरै रहेको थियो । अझै पनि कोरोना कहर जारी छ ।