नेपालमा थप ४०९ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित

काठमाडौं,पुस २२ ।नेपालमा थप ४०९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ६ हजार ७०६ नमुना परीक्षण गर्दा १४४ महिला र २६५ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

 

याे सँगै कुल संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ । उनीहरुमध्ये २ लाख ५६ हजार १६१ जना संक्रमणमुक्त भएका छन् भने १८९९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

हाल देशभर ५ हजार १३३ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १६०८ जनाको होम आइसोलेसनमा छन् भने १९७ जनाको आईसीयू र ३० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कुन जिल्लामा कति थपिए संक्रमित

प्रदेश १ को झापामा २ र मोरङमा ११ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को धनुषामा १, पर्सामा २ र बारामा २ जनामा कोरोना पाइएको मन्त्रालयले जनाएको छ।

 

बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ५९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा ६, चितवनमा १७, दोलखामा ६, धादिङमा १, नुवाकोटमा २, भक्तपुरमा २४, रामेछापमा १, ललितपुरमा ५० र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

 

पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २७, गोरखामा १, तनहुँमा २, नवलपरासी पूर्वमा ४, म्याग्दीमा १, लमजुङमा ३, बागलुङमा २ र स्याङजामा १ जनामा कोरोना पुष्टि भएको छ।

 

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा १०, कपिलवस्तुमा ४, गुल्मीमा ५, दाङमा ४, नवलपरासीमा ५, पाल्पामा ७, बर्दियामा १, बाँकेमा १२, रोल्पामा ३ र रुपन्देहीमा २५ जनामा कोरोना पाइएको छ।

 

पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमित भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा १ र कैलालीमा ६ जनामा कोरोना भेटिएको छ।