कांग्रेसले आज ३३० वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै

काठमाडौं,पुस २५। नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोधसँगै निर्वाचनको तयारीलाई पनि एकसाथ अघि बढाउने भएको छ।

 

सरकारविरुद्ध मंसिर अन्तिमसाता ७७ वट्टै जिल्लामा प्रदर्शन गरेको कांग्रेसले पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै विरोधका कार्यक्रम र निर्वाचन तयारीलाई एकैसाथ अघि बढाएको हो।

 

पार्टीभित्रको आन्तरिक विवाद व्यवस्थापन गर्न नसकेको झोकमा प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमलाई असंबैधानीक र अलोकतान्त्रिक भनेको कांग्रेसले शनिबार ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्न लागेको छ।

 

यसअघि प्रतिनिधिसभाको निर्वाचन क्षेत्रमा संसद् विघटन गर्ने प्रधानमन्त्रीको कदमविरुद्ध विरोध प्रदर्शन गरेको कांग्रेसले पुस १९ गतेको केन्द्रीय समिति बैठकले प्रदेश निर्वाचन क्षेत्र, ७ सय ५३ स्थानीय तह र सबै वडा तहमा कार्यक्रम तय गरेको छ। सोही अनुसार कांग्रेसले शनिबार प्रदेश निर्वाचन क्षेत्र केन्द्रीत कार्यक्रम गर्न लागेको हो।

 

शनिबारको विरोधसभालाई सभापति शेरबहादुर देउवासहितका नेताहरूले ३ सय ३० वट्टै निर्वाचन क्षेत्रमा सम्बोधन गर्ने छन्। प्रतिनिधिसभा पुनस्र्थापनको पक्ष नउभिएको भन्दै विभिन्न क्षेत्रबाट कांग्रेसको आलोचना गरे पनि उसले विरोधका कार्यक्रमहरूलाई विकेन्द्रीत गरेको छ।

 

‘अहिलेको अवस्था आउनुको मुख्य कारण प्रधानमन्त्री केपी ओली भए पनि नेकपा कम्युनिस्ट पार्टी ९नेकपा०का अन्य नेताहरू यसबाट अछुतो छैनन्,’ धादिङ कांग्रेसका सभापति रमेश धमलाले भने, ‘सरकार र कम्युनिस्टहरूको गलत क्रियाकलापलाई हामी जनतासमक्ष पुर्‍याउने छौं।

 

सोही पार्टीले जिल्ला, प्रतिनिधि र प्रदेश सभा निर्वाचन क्षेत्र, स्थानीय तह हुँदै वडासम्मको कार्यक्रम तय गरेको धमलाको बुझाइ छ। ‘कम्युनिस्ट नेतृत्वको वर्तमान सरकारको अधिनायकवादी, सर्वसत्तावादी, निरंकुश र स्वेच्छाचारी चरित्रका कारण पाँच वर्षका लागि दिएको जनमतबीचमै खण्डित भएको छ, उनले भने, ‘यसको जति निन्दा गरे पनि कम हुन्छ।

 

जनमत र संवैधानिक व्यवस्थाको खिल्ली उडाइएको छ।’ कांग्रेस लोकतन्त्र र जनताबाट अनुमोदन हुने कुरालाई जहिले पनि सकारात्मक रूपमा लिने र त्यसका लागि तयार रहेको उनले बताए।

 

प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री कदम अब अदालतको विषय भएको भन्दै कांग्रेस नेताहरूले त्यसले गर्ने निर्णलाई सम्मान गर्ने बताए।

 

‘संसद् विघटन गरेर प्रधानमन्त्री ओलीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भत्काउने र मुलुकलाई अस्थिरता, अनिश्चितता, अराजकता र असफलतातर्फ धकल्ने काम गरे, कांग्रेस नेता रामहरि खतिवडाले भने, ‘कांग्रेस अब पुनस्र्थापना वा निर्वाचन दुवैका लागि तयार छ। सोहीअनुसारका कार्यक्रम लिएर जिल्ला, क्षेत्र हुँदै गाउँसम्म पुग्दैछ।

 

नेकपा घर झगडा मिलाउन नसक्दा सिंगो मुलुकलाई भड्खालोमा हाल्ने काम गरेको आरोप लगाउँदै खतिवडाले भने, ‘नेकपाको घर झगडामा कांग्रेस विघटन वा पुनस्र्थापनको दुवै पक्षमा लाग्ने होइन। यसको भन्डाफोर गर्ने हो।

 

संगठनलाई चलायमान बनाएर पार्टीलाई निर्वाचनका लागि तयारी अवस्थामा राख्नुपर्छ। अरूको पछि लागेर कांग्रेस कुद्ने होइन। कांग्रेसले माघ ३ गते ७ सय ५३ स्थानीय तह तथा माघ ८ गते ६ हजार ७ सय ४३ वडाहरूमा संसद् विघटनविरूद्ध प्रदर्शन गर्ने कार्यक्रम तय गरेको छ।

 

यसैबीच कांग्रेसले पुस २७ गतेसम्मका लागि स्थगित गरेको केन्द्रीय समिति बैठक माघ ६ गतेका लागि सारेको छ। माघ ६ गते १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने कांग्रेसले जनाएको छ।नागरिक दैनिकमा खबर छ।