विदेशीको जिज्ञासा–खोप लगाएपनि क्वारेन्टिन बस्नैपर्ने हो र ?
काठमाडौं,पुस २८। नेपाल भित्रिएका जो कोही विदेशी (भारतीय बाहेक) पाहुनाले एकसातासम्म अनिवार्य क्वारेन्टिन बस्नुपर्ने अहिलेसम्मको सरकारी नियम छ ।
त्यसबाहेक नेपालसम्मको यात्रा थाल्दा ७२ घण्टा अगाडि कोरोनाको पिसिआर परीक्षण गरेको नेगेटिभ रिपोर्ट पनि ती पाहुनाले पेश गर्नुपर्छ । कोरोनाको नेगेटिभ रिपोर्ट देखाउन नसके नेपाल प्रवेश पाइदैन ।
तर, कतिपय मुलुकले पछिल्लो समय आफ्ना नागरिकलाई कोरोना विरुद्धको खोप लगाउन थालिसकेका छन् । कोरोना विरुद्धको खोप लगाएका ती मुलुकका नागरिकले आफुलाई सुरक्षित ठान्दै ढुक्कसँग हिडडुलको योजना पनि बनाईसकेका छन् ।
खोप लगाइसकेका पाहुनाले हिडडुलको योजना त बनाएका छन, तर, क्वारेन्टिन बस्नुपर्ने र अनिवार्य पिसिआर परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने नियम रहिरहँदा ती पाहुना भने अन्योलमा छन् ।
उनीहरुले भन्न थालेका छन–कोरोना विरुद्धको खोप लगाइसकेपछि पनि पिसिआरको नेगेटिभ रिपोर्ट र क्वारेन्टिन अनिवार्य बस्नुपर्ने हो र ?
केहीदिन अघि पर्यटन व्यवसायी सुशीलराज पौडेललाई जर्मनकी दुईजना नागरिकले यस्तै जिज्ञासा राखे । तर, ती जर्मनी नागरिकको जिज्ञासाको सहज उत्तर पौडेलसँग थिएन ।
आफुले सोच्दै नसोचेको जिज्ञासा ती विदेशीले राखेपछि पौडेल नै रनभुल्लमा परे । पदयात्रा व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान)का गण्डकीका अध्यक्ष समेत रहेका पौडेलले भने, ‘म नै जवाफविहीन भए । के जवाफ दिउँ भन्ने नै मसँग थिएन ।’
पौडेलको बुझाइमा खोप नै कोरोना विरुद्धको सबैभन्दा ठुलो सुरक्षा कवच हो । खोप लगाइसकेका ती पाहुनालाई निर्धक्क नेपाल घुम्न बोलाउन मिल्ने वा नमिल्ने भन्नेमा सरकारले स्पष्ट पारिसकेको छैन ।
पौडेल भन्छन, ‘खोप लगाईसकेका व्यक्तिलाई एकसाता अवधिको क्वारेन्टिन र पिसिआरको नेगेटिभ रिपोर्ट चाहिने हो वा नचाहिने हो भनेर सरकारले स्पष्ट भनिदिनुपर्छ ।
कोरोना विरुद्धको खोप नै सबैभन्दा ठुलो सुरक्षण कवच भएकोले पिसिआरको नेगेटिभ रिपोर्ट र एकसाता क्वारेन्टिन अनिवार्य गर्नु उपयुक्त नहुने उनले बताए ।
‘खोप नै लगाएपछि नेगेटिभ रिपोर्ट र क्वारेन्टिन अनिवार्य गर्दा राम्रो सन्देश जाँदैन,’ उनले भने, ‘त्यसैले सरकारले यो बारेमा जतिसक्दो छिटो स्पष्ट पार्नुपर्छ ।नागरिक दैनिकमा खबर छ।