नेपालमा थप ३२२ जनामा कोरोना संक्रमण पुष्टि,कुन जिल्लामा कति थपिए संक्रमित
काठमाडौं,माघ ५ । नेपालमा थप ३२२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार ३०६ नमुना परीक्षण गर्दा १२४ महिला र १९८ पुरुषमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख ६७ हजार ६४४ पुगेको छ ।
उनीहरुमध्ये २ लाख ६१ हजार ८१८ जना संक्रमणमुक्त भएका छन् भने १९६५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर ३ हजार ८६१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये ११०२ जनाको होम आइसोलेसनमा छन् भने १६१ जनाको आईसीयू र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
कुन जिल्लामा कति थपिए संक्रमित
प्रदेश १ को झापामा ४, मोरङमा ५ र सुनसरीमा २ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश २ को बारामा १, सप्तरीमा २, सर्लाहीमा १ र सिरहामा १ जनामा कोरोना भेटिएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र १ सय ४१ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा २२, धादिङमा १, नुवाकोटमा १०, भक्तपुरमा ७, मकवानपुरमा ५, सिन्धुलीमा २ र ललितपुरमा १५ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा २१, गोरखामा ४, तनहुँमा ६, नवलपरासीमा पूर्वमा ६, पर्वतमा ३, म्याग्दीमा ४, लमजुङमा २ र वागलुङमा ११ जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, दाङमा ३, पाल्पामा ३, बर्दियामा २, बाँकेमा १९ र रुपन्देहीमा ६ जनामा कोरोना पाइएको छ।
पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा कोरोना भेटिएको छैन। सुदूरपश्चिम प्रदेशको बझाङमा ५ जनामा मात्र कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।