मोबाइलको दुरुपयोग अभिशाप बन्दै

काठमाडौँ, माघ २४ । आफ्नो छोराछोरी मोबाइल अति नै चलाउने र धेरैबेर नचलाउन भन्दा झर्किने गर्छन् भने बुझ्नु होस् उनीहरूमा मोबाइलले समस्या ल्याएको छ ।

 

बालबालिकालाई ‘भुल्याउन’ मोबाइल चलाउन दिँदा उनीहरू विस्तारै गेम (खेल) र पोर्नो (अस्लील) साइटप्रति आकर्षित हुने गरेको सम्बन्धित विज्ञहरू बताउँछन् ।

कोरोना महामारीका बेला मोबाइलको प्रयोग झन् बढ्यो । समय बिताउन होस् वा विद्यालयले सञ्चालन गरेको अनलाइन कक्षा पढ्न पनि मोबाइल प्रयोग गर्नुपर्ने अवस्था आयो ।

 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घका महासचिव गुणराज मोक्तान बालबालिकालाई पठनपाठनसँगै व्यस्त बनाउन सहजीकरण गरे पनि एक किसिमको लत नै विकास भएको बताउनुहुन्छ ।

मोबाइल ‘प्रयोग गर्न जाने फलिफाप, दुरुपयोग गरे अभिशाप’ हुने भएकाले अभिभावकको निगरानी आवश्यक भएको उहाँको भनाइ छ ।

 

मोबाइलको लतले बालबालिकामा मानसिक समस्या पनि देखिने सम्भावना हुन्छ । मनोरन्जन र ज्ञानगुनका कुरामा भन्दा अनलाइन खेलप्रति बालबालिकाको आकर्षण बढ्दै गएको छ ।

 

यतिसम्मकी अनलाइन गेम खेल्न घरबाट पैसा चोरी गरेका घटना समेत सार्वजनिक हुन थालेका छन् । अनलाइन खेल खेल्न ई–पे (टपअफ)गर्ने लत बसेको छ ।

बूढानीलकण्ठस्थित एक घरबाट केही दिनअघि भएको २५ हजार रुपियाँ चोरीमा घरधनीकै छोरा संलग्न पाइयो । एसईईको तयारीमा जुटेको छोराले चोरी गरेको रकम अनलाइन गेममा खर्च गरिसकेको प्रमाण फेला परेपछि अभिभावक झस्किएका थिए ।

 

महानगरीय प्रहरी परिसर काठमाडौँका अनुसन्धान अधिकृत एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्द ‘छोराछोरीको आनीबानीप्रति अभिभावक सचेत र सतर्क नहुँदा यस्ता घटना बढ्दै जाने बताउनुहुन्छ ।

 

त्यस्तै रुपन्देहीमा ‘पब्जी’ नामको अनलाइन गेम हारेका कारण आत्महत्याको प्रयास गरिरहेका एक बालकको नेपाल प्रहरीको साइबर ब्युरोले उद्धार गरेको छ । कार्टुन तथा ज्ञान दिने ‘एप्स’ र वेभसाइट भन्दा बालबालिकामा अनलाइन गेमप्रतिको आकर्षण बढी देखिन्छ ।

 

साइबर ब्युरो प्रवक्ता नविन्द अर्यालका अनुसार पब्जी, फ्रि–फायर, क्वाइन मास्टर, ज्याकपट म्याजिक स्लट, मोबाइल ले–जेन्ड्स र ई–फुटबललगायत ‘एप्स’ खेलको लतमा फसेका बालबालिकामा झनक्क झर्किने, रिसाउने र खेलमा भाग लिन रकम चोरीको समस्या बढी देखिन्छ ।

 

अनलाइन खेल निःशुल्क रूपमा खेल्न सकिन्छ तर पनि स्कोर बढाउन, लेभल (चरण) पार गर्न र क्वाइन (यूसी, डायमण्ड र गोल्ड) खरिद गर्न बिचौलिया समूहले रकम माग्ने गरेको जानकारी उहाँले दिनुभयो । रकम पनि भिजाकार्ड, ई सेवा, खल्ती र आईएमईबाट लेनदेन हुने गरेको छ ।

 

अनलाइन गेम एप्स प्रतिबन्ध गर्न सम्भव छैन । उहाँले भन्नुभयो, “सरोकारवाला पक्ष सचेत तथा सतर्क हुनु प¥यो । बालबालिकाको मोबाइल मोहप्रति निगरानी राख्नुपर्छ ।” भारतलगायत कतिपय मुलुकले पब्जी खेलमा प्रतिबन्ध लगाएको छ ।

“पठनपाठनभन्दा मोबाइल बढी प्रयोग गर्ने, काम लगाउँदा अल्छी तथा बेवास्ता गर्ने, मोबाइल माग्दा झर्किनेजस्ता आनीबानी देखापर्नु अनलाइन खेलको कुलत हो ।

 

साइबर विज्ञ अर्यालले भन्नुभयो, “समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रत्येक विद्यालयमा जनचेतना अभियान सञ्चालन गर्छौं” ।

ई–कारोबार तथा ई–बैङ्किङ सेवा प्रदायक निकायसँग कोड (साङ्केतिक) नम्बर उल्लेख गरी हुने कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन आवश्यक कागजपत्र तथा अन्य सुरक्षा उपाय अवलम्बनका सम्बन्धमा छलफलको तयारी भइरहेको ब्युरोले जनाएको छ ।

सामान्यतयाः तीनदेखि १६ वर्ष उमेर समूहका बालबालिका अनलाइन खेलमा लिप्त छन् । नेपाल प्रहरीको महिला तथा बालबालिका निर्देशनालयका अनुसार अस्लील भिडियो हेर्नेको समस्या सहरमा भन्दा ग्रामीण क्षेत्रमा बढी छ ।

 

कलिलै उमेरमा ‘ह्याकर’ बन्न प्रतिस्पर्धा गर्ने, केटी साथीसँगको अन्तरङ्ग तस्बिर सार्वजनिक गर्ने, सामाजिक सञ्जालको दुरुपयोग गर्ने, चरित्र हत्या गर्ने र पैसाका लागि ‘बार्गेनिङ’ को समस्या किशोरकिशोरीमा भयावह बन्दै गएको छ ।गोरखापत्र दैनिकमा खबर छ।