भागरथी हत्या प्रकरण :आरोपी दिनेश भट्ट प्रहरीद्वारा सार्वजनिक,न्याय माग्न प्रदर्शमा जान्थे आरोपी

काठमाडौं,फागुन ५।  प्रहरीले बैतडी स्थित दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न अभियुक्त घटना घटेको दुईसाता पछि पक्राउ गर्न सफल भएको छ।

 

प्रहरीले भट्ट अध्ययनरत विद्यालयकै कक्षा ११ मा पढ्ने १७ वर्षीय दिनेश भट्टलाई घटनाको अभियोगमा नियन्त्रणमा लिई सार्वजनिक गरेको छ ।

 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीका अनुसार घटना भएको केही दिनमा प्रहरीको शंकाको घेरामा परेका किशोरलाई अन्य प्रमाण जुटाएपछि नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार भट्ट भागरथीका चिनेजानेका मात्र होइन नजिकैका नाता जोडिएका व्यक्ति हुन् ।

 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तम सुवेदीले भने, ‘हत्या आरोपमा पक्राउ परेका व्यक्ति पहिले देखि नै हाम्रो उच्च निगरानीमा थिए ।

 

थप प्रमाण जुटाउन लागिरहेका थियौं । केही प्रमाण हात परेपछि उनलाई समातेका हौं । उनले हाम्रो बयानका क्रममा आफुले हत्या गरेको स्वीकारीसकेका छन् ।

 

जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी सुवेदीले भागरथीको हत्यामा अहिले सम्म दिनेश बाहेक अरु कोही संलग्न नदेखिएको बताए ।

 

डीआईजी सुवेदीले भने,अनुसन्धानले उनी एक्लै यसमा संलग्न देखिएको छ, अब फरेन्सिक ल्याब लगायतका अन्य रिपोर्टहरु आएपछि हामी थप तथ्यहरु बाहिर ल्याउन सक्छौ ।

 

प्रहरी अनुसन्धान अनुसार पुरानो रिसिइबीले माघ २१ गते किशोरले भागरथीलाई सुरुमा धकेलेर लडाएर बोहोस भएपछि घाँटी घिचेर हत्या गरेको खुलेको छ ।

 

माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि भागरथीको खोजी सुरू भएको थियो। त्यसको भोलिपल्ट २२ गते साँझ घर नजिकैको जंगलमा उनी मृत अवस्थामा फेला परेकी थिइन्।