ओलीले तत्काल राजीनामा नदिने, संसदको सामना गर्ने
काठमाडौं,फागुन १२ । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने बताएका छन् ।
मंगलबार साँझ सामाजिक सन्जालमार्फत सल्लाहकार थापाले सर्वोच्च अदालतको फैसला विवादास्पद रहेको तर स्वीकार गर्नुपर्ने भन्दै प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर फैसला कार्यान्वयन गर्ने बताएका छन् ।
उनले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छ । यसका दुस्प्रभावहरु भविश्यमा देखिँदै जानेछन् ।
यसबाट राजनीतिक समस्याहरुको कुनै हल हुने अवस्था पनि छैन । बरु अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ । प्रधानमन्त्रीले प्रतिनिभिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ । तत्काल राजीनामा दिनुहुने छैन ।राजधानी दैनिकमा खबर छ।