ओली र नेपालबीच धुम्बाराहीमा भेटवार्ता हुँदै

काठमाडौं,चैत २। नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता हुँदै छ ।

 

अहिले पार्टी कार्यालय धुम्बाराहीमा भेट हुने भएको हो ।ओलीले बालुवाटार बोलाए पनि नेपाल त्यहाँ जान तयार नभए पछि अहिले ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा भेट हुने तय भएको हाे।

 

ओली र नेपाल बीच चार महिनापछि भेटवार्ता हुन लागेको हो । गएको २५ कात्तिकमा आफू निकट नेताहरु सहित बालुवाटार पुगेर नेपालले ओलीलाई भेटेका थिए । त्यसपछि एक्लाएक्लै भेटवार्ता भएको छैन ।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन पछि भने एक अर्काविरुद्ध गतिविधि, अभिव्यक्ति र निर्णय नै गर्दै आएका ओली र नेपाल बीच भेटवार्ता हुन लागेको हो । 

 

प्रधानमन्त्री ओलीले चैत ७ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएका छन्। दुई पक्षको भेटवार्ताकै लागि ओलीले आज चियापान समेत राखेका छन् । 

 

प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै नेपाल पक्षका नेताहरूलाई पनि सो बैठकमा आउन भने पनि उनले गरेको निर्णय फिर्ता नलिउन्जेल केन्द्रीय समितिको बैठक र चियापानमा जाने मनस्थितिमा आफूहरू नरहेको नेपालनिकट एक केन्द्रीय सदस्यले बताए।