खुला मञ्चबाट अस्थायी बसपार्क सारिदै

काठमाडौँ,चैत ४। काठमाडौँ महानगरपालिकाले अस्थायी बसपार्कलाई अन्यत्र सारेर खुला मञ्चलाई खाली गर्ने भएको छ। विगत पाँच वर्षदेखि खुलामञ्चबाट बसपार्क सञ्चालन हुँदै आएको छ ।

 

बसपार्क सञ्चालन भएको र गोरखा भूकम्पपछि ऐतिहासिक सम्पदाको पुनःनिर्माणका क्रममा निर्माण सामग्री राखिँदा खुलामञ्च खुम्चिएको थियो ।

 

केही सम्पदाहरुको निर्माण सम्पन्न भइसकेको र केहीको अन्तिम चरणमा रहेकाले खुलामञ्च खाली गर्न सहज भएको महानगरपालिकाको भनाइ छ ।

 

महानगरपालिकाले एक महिनाअघि पहिलो चरणमा केही संरचना र बारबेर हटाइसकेको थियो । अहिले भने बसपार्क अन्यत्र सार्ने र बाँकी रहेका निर्माण सामग्री हटाउने काम थालेको छ ।

 

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलका अनुसार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स, दरबार हाइस्कुल र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई पत्र पठाएर खाली गर्ने वातावरण बनाउन आग्रह गरिएको छ ।

 

दरबार हाइस्कुलको निर्माण सम्पन्न भएको र वीर अस्पतालको समेत पुनःनिर्माण अन्तिम चरणमा पुगेकाले बाँकी सामग्री र संरचना हटाउन थालिएको प्रवक्ता डङ्गोलको भनाइ छ ।

 

तत्काल अन्य संरचना हटाउँदै जाने र बसपार्कका विषयमा स्थानको पहिचान गरेर शुरु गरिनेछ । पाँच वर्षअघि बसपार्क रहेको स्थानमा हाल काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम भइरहेको छ ।

 

उक्त टावर निर्माणको कामले गति लिन नसक्दा स्थायीरूपमा बसर्पाक सञ्चालन गर्न समस्या भएको हो । उक्त टावर पाँच वर्षमा निर्माण सम्पन्न गर्ने भन्दै शुरुआत भए पनि अहिलेसम्म निर्माणको काम नगण्य मात्र भएको छ ।।