प्रदेश नं १ को नेपाल-भारतमा सीमा क्षेत्रमा पहिलो चरणमा ५१ बोर्डर आउट पोष्ट स्थापना

विराटनगर,चैत ९। पछिल्लो समयमा नेपाल भारतको सीमास्थित बीओपी (बोर्डर आउट पोष्ट) स्थापना भएपछि शान्तिसुरक्षामा धेरै सहज भएको छ ।

 

खुला सिमानाका कारण अनाधिकृतरुपमा नेपाल–भारत ओहोरदोहोर गर्ने मानिसको पुरानो बानीमा पनि परिवर्तन आएको बताइएको छ ।

 

सशस्त्र प्रहरी बस्ने गरी स्थापना गरिएको बीओपीले गर्दा नेपालतर्फ सीमा क्षेत्रमा बसोबास गर्ने मानिस सुरक्षाको पूर्ण अनुभूति गर्न थालेका छन् ।

 

विगतमा चोरी डकैतीको मार खेपी रहेका सीमा क्षेत्रका बासिन्दा अहिले निर्भिकतासाथ आफ्नो व्यापार र व्यवसायमा लागेका छन् ।

 

विगतमा चौपायाको चोरी र अपराधका घटना सीमा क्षेत्रमा हुने गरेको तर, अहिले बीओपी स्थापना भएपछि यी समस्या हराएर गएको सुनसरी हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले जानकारी दिए ।

 

बीओपीले गर्दा नेपाली भूभागमा विगतमा हुने गरेका अपराधका घटनामा उल्लेखनीय कमी आएको जानकारी दिँदै झापा केचन कवल गाउँपालिकाका अध्यक्ष अञ्जरा आलमले भने,बीओपीले हामीलाई रक्षा गर्नुका साथै हाम्रा धनसम्पत्तिको पनि रक्षा गरेको छ ।

 

पूर्वी नेपालको भारतसँग जोडिएको इलामाका सीमावर्ती क्षेत्रमा सात बीओपी स्थापना भइसकेका सशस्त्र प्रहरी बल नं १ गण हेडक्वाटर श्रीअन्तुका सशस्त्र प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए ।

 

उनले इलामको कूल सीमा ५२ दशमलव दुई किमी रहेको बताए । उनले अहिले सरदर एउटा बीओपीबाट अर्को बीओपीको गस्ती गर्न सात दशमलव पाँच किमी यात्रा तय गर्नुपर्ने भए पनि सीमा क्षेत्रमा पहुँच पुगेकाले कुनै पनि अप्रिय घटना हुन नदिन सचेत एवं गम्भीर रहेको प्रतिक्रिया दिए ।

 

उनले इलामको सलकपुर र समालबुङमा बीओपी स्थापना गर्न भवन निर्माणका लागि ठेक्का लागि सकेको बताए।कालपोखरी र छब्बिसेमा बीओपी स्थापना गर्न स्थानीयवासीको सहयोगमा जग्गाप्राप्तिका लागि प्रयास भइरहेको उनले जानकारी दिए । एउटा बीओपीमा अहिले सरदर २५ देखि ३५ सशस्त्र प्रहरी छन् ।

 

उनहरुको निगरानी र सक्रियताका कारण जनतामा आशा जागेको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । झापामा १४४ दशमलव दुई किमीको सिमाना क्षेत्रमा १७ बीओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए ।

 

झापाको सीमा लामो भएकाले यहाँ अझ २० बीओपी आवश्यकता पर्ने बताइएको छ । सरदर एक बीओपीमा २० देखि ३५ सशस्त्र प्रहरीले सीमा क्षेत्रमा आफ्ना गतिविधि र निगरानीलाई तेज पारेको छ ।

 

यस्तै मोरङमा आइतबार मात्र तीन ठाउँमा बीओपी स्थापना गरिएको छ । ति बीओपीलाई प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले निरीक्षण एवं अवलोकन गर्दै उद्घाटन गरे ।

 

डाँगी, सुनवर्षीको सिकटी र धनपालको धनपतिमा बीओपी स्थापना भएपछि मोरङमा कूल ११ बीओपी पुगेका सशस्त्र प्रहरी उपरीक्षक तीर्थराज पौडेलले बताए ।

 

उनले मोरङको मधुमल्ला र सोराभागमा पनि बीओपीको आवश्यकता देखिएको जानकारी दिए । निकट भविष्यमा आवश्यकता भएको ठाउँमा बीओपी स्थापना हुँदै जाने उपरीक्षक पौडेलले बताए ।

 

मोरङको सिमानाको लम्बाइ ६३ दशमलव दुई किमी छ । यहाँको प्रत्येक बीओपीमा सरदर २५ देखि ३५ सशस्त्र प्रहरी खटिएका छन् ।

 

सुनसरीमा हालसम्ममा १० बीओपी स्थापना भइसकेका सशस्त्र प्रहरी उपरीक्षक माधवप्रसाद पौडेलले जानकारी दिए । उनले भोक्राहा गाउँपालिका र बर्जुतालको हर्मोनीस्थित बीओपी निर्माणाधीन अवस्थामा रहेका जनाउँदै सुनसरीमा आवश्यकताअनुसार बीओपी राज्यले स्थापना गर्दै जाने बताए ।

 

सुनसरीको कूल सिमानाको लम्बाइ ६१ दशमलव आठ किमी छ । सरदर प्रत्येक बीओपीमा २५ देखि ३५ सशस्त्र प्रहरी बसेका छन् ।

 

सशस्त्र प्रहरी बल नं १ बराह बाहिनी मुख्यालय सुनसरीमा प्रदेश नं १ मा पहिलो चरणमा ५१ बीओपी स्थापना भइसकेका छन् ।