शिक्षा र स्वास्थ्य क्षेत्रका माफियालाई सडकमा घिसारेर ल्याउछौँःअध्यक्ष गजुरेल
सुर्खेत,चैत १६ । नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेलले देशभरका शिक्षा र स्वास्थ्य क्षेत्रका माफियालाई सडकमा घिसारेर ल्याउने बताएका छन्।
शिक्षा र स्वास्थ्य क्षेत्रमा माफियाले राज गरेको भन्दै उनले अनेरास्ववियु (क्रान्तिकारी) को नेतृत्वमा विद्यार्थीहरूले माफियालाई तह लगाउने बताए ।
सोमबार सुर्खेतको वीरेन्द्रनगरमा पत्रकार सम्मेलनमा बाेल्दै अध्यक्ष गजुरेलले अरू विद्यार्थी संगठनका नेता नै माफियाहरूसँग मिलेर लुट्न लागेकाे आरोप लगाए ।
देशभर शिक्षा र स्वास्थ्य सेवा निःशुल्क हुनुपर्छ भन्ने हाम्रो प्रमुख मुद्दा रहेकाे उनले बताए ,उनले भने, ‘शिक्षालाई माफियाकरण गर्ने तर्फ विद्यार्थी नेताहरू नै लागेका छन् । उनीहरू नै लुट्न चाहन्छन् । एमाले र माओवादीका विभिन्न संघ संगठनमा आफ्नो लुटको स्वर्ग जोगाउन हानथाप छ ।
तत्कालीन जनयुद्धले शिक्षा र स्वस्थ्यलाई पूर्णरूपमा राष्ट्रियकरण गर्नुपर्छ भन्ने कुरा जोडदार रूपमा उठाए पनि त्यही मुद्दा स्थापित हुन नसक्नु दुःखद कुरा भएको बताए ।
जनयुद्धमा एकजुट भएर गएको माओवादी प्रचण्डको गद्दारीले पार्टीमा विचलन आएकाे’ उनले थपे, ‘विद्यार्थी संगठन पनि त्यस्तै कारणले धराशायी बनेकाे उनले बताए ।
त्यो जनयुद्धको मुद्दालाई अहिले पनि हामीले निरन्तर उठाइरहेका छौँ । अरू नाम मात्रका अखिल क्रान्तिकारी हुन् । सडकमा शिक्षाका चर्का नारा लगाउने विद्यार्थी नेताको नै निजी शैक्षिक संस्थामा लगानी रहेको भन्दै उनले त्यसलाई चिरफार गरेरै छाड्ने बताए ।
त्यस्तै कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटव्युरो सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज चक्रपाणि शर्माले नेकपाको नाममा एमाले र माओवादीले देशलाई प्रयोगशाला बनाइछाडेको आराेप लगाएका छन्।
आज कुनै पनि कुराहरू राज्यको नियन्त्रणमा छैन,’ उनले भने, ‘नेकपाको तीन वर्ष स्वार्थको लडाईँमा मात्रै बित्यो । समाजवादी व्यवस्था असफल भइसक्यो । अब पनि हामीले यो व्यवस्था परिवर्तन गर्न सक्दैनौँ भने देश समृद्ध बन्न सक्दैन।
कार्यक्रममा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य एवम् देशभक्त जनगणतान्त्रिक मोर्चा कर्णाली प्रदेशका अध्यक्ष दीपक शाहीले देशमा जनवादी गणतन्त्र नआएसम्म आफूहरू निरन्तर लागिरहने बताए ।
आफूहरू कुनै पनि स्वार्थ र सत्ताका लागि नलागेको भन्दै उनले समृद्ध नेपालका लागि अहिलेको व्यवस्था परिवर्तन गर्न निरन्तर लागिरहेको स्पष्ट पारे ।