संक्रमितमध्ये सिकिस्त बिरामीको संख्या बढ्दै:एकैदिन ३ सय ३७ जनामा संक्रमण

काठमाडौं,चैत २९। देशभर कोरोना संक्रमणको दोस्रो अध्ययय सुरु भइसकेको भन्दै हेलचेक्र्याई नगर्न चिकित्सकले सुझाएका छन् ।

 

केही दिनयता सिकिस्त संक्रमित संख्या प्रतिदिन बढ्दै गइरहेको भन्दै सचेत र सजग रहन सुझाव दिइएको हो । तीमध्ये सिकिस्त संख्या बढ्दो छ । आईसीयूमा भर्ना हुने संक्रमितसमेत बढ्दै गएका छन् ।

 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोभिड संक्रमण जोखिम बढेको भन्दै हेलचेक्र्याई नगर्न जोड दिए । ‘भीडभाड नगरौं, भौतिक दूरी कायम गरी जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना गरौं,’ उनले भने ।

सक्रिय संक्रमित २८ सय

जनस्वास्थ्य विज्ञ डा। रवीन्द्र पाण्डेले जोखिम बढेकाले सरकारले सीमानाकामा ‘फलामे’ कडाइ तथा हरेक आगन्तुकको परीक्षण गर्नुपर्ने माग गरे ।

 

कन्ट्रयाक्ट ट्रेसिङ छरितो, प्रभावकारी र संक्रमित स्थान पत्ता लगाएर आवागमन नियमन गर्न सरकार लाग्नुपर्ने उनको जोड छ ।

 

डा.पाण्डेका अनुसार हरेक जिल्लामा अक्सिजन बेड, गुणस्तरीय उपचार तथा सघन उपचार व्यवस्था गर्न अति आवश्यक भइसकेको छ ।

 

जनस्वास्थ्य मापदण्ड अनुगमन, निगरानी तथा पालना गर्ने÷गराउनुपर्ने र त्यसमा लापरबाही गर्नेलाई जरिमानाको व्यवस्था गर्नसमेत उनले सुझाए ।

 

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रवक्ता डा.अनुप बाँस्तोलाका अनुसार आईसीयूमा भर्ना हुने बिरामी संख्या प्रतिदिन बढ्दो छ ।

सिकिस्त बिरामीको चाप यही गतिमा बढ्दै गए केही साताभित्रै मृत्युदरसमेत बढ्ने आँकलन गर्न सकिने उनले औंल्याए ।

 

पछिल्ला दिन प्रयोगशालामा गरिएका परीक्षणमा एसजीन नेगेटिभ संख्या बढी देखिएको भन्दै डा.बास्तोलाले कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियेन्ट)समुदायमा फैलिरहेको आधार दिने उल्लेख गरे । नेपालमा कोरोना भाइरसको बेलायत ‘भेरियन्ट’ बढ्दै गएको पाइएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा संक्रमण बढ्दो रहेकाले कोभिड–१९ संकट व्यवस्थापन केन्द्रसमक्ष तीन साता अनलाइन माध्यमबाट कक्षा सञ्चालन गर्न सिफारिस गरेको छ ।त्यस्तै, बढी भीडभाड र जोखिम बढ्नसक्ने स्थान, सपिङ मल, नाचघर, सिनेमा हल, पार्टी प्यालेस, हेल्थ क्लब स्विमिङ पुललगायत क्षेत्रमा जनस्वास्थ्य मापदण्ड अति कडाइसाथ पालना गरेर मात्रै सञ्चालन गर्ने अन्यथा बन्द गर्न÷गराउन सिफारिस गरिएको छ ।

 

रात्रीकालीन व्यवसाय तथा रेस्टुरेन्ट राति ९ बजेपछि कडाइसाथ बन्द गर्नरगराउन तथा संक्रमण अवस्था हेरेर ठूला सहरमा पाँच सयभन्दा बढी र साना सहरमा सयभन्दा बढी सक्रिय संक्रमित देखिए आवागमन व्यवस्थित गर्न मन्त्रालयले सिफारिस गरेको छ ।

 

यसैगरी, देशभर शनिबार ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमित संख्या २ लाख ७९ हजार ७ सय २५ पुगेको छ ।

 

स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित संख्या २ हजार ८ सय छन् । पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ३२ जनाको पीसीआर परीक्षण भएको छ ।

 

योसँगै नेपालमा पीसीआर परीक्षण हुनेको संख्या २३ लाख ९ हजार ७ सय ७६ पुगेको छ । हाल, देशभर ८४ जना क्वारेन्टाइनमा छन् ।राजधानी दैनिकमा-प्रशान्त वलीले याे समाचार लेखेका छन्।