सुदूरपश्चिमका पहाडी जिल्लामा विशेष उल्लासपूर्वक ‘बिसु’ पर्व मनाइँदै
काठमाडौं,बैशाख १ । सुदूरपश्चिम प्रदेशमा नयाँ वर्ष आरम्भसँगै मनाइने ‘बिसु’ पर्वको रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्कालगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ ।
बिसु पर्व मनाउन विवाहिता छोरीरचेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन् ।
पछिल्ला हप्तामा भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दा भने स्वदेश फर्किनेहरुको यात्रा त्यति सहज हुन सकिरहेको छैन ।
धनगढीको ट्रफिक चोकमा भेटिनु भएका डोटीका डिल्लीराज जोशीले वर्षमा एक पटक आउने बिसु पर्व मनाउन केही दिनको विदा मागेर घर फर्किएको बताउनुभयो ।
कोरोना भाइरस सङ्क्रमणको समस्याले यात्रा केही असहज भयो, सङ्क्रमणको अवस्था कस्तो हुन्छ, फर्किन सकिने अवस्था भए केही दिनको बसाइपछि पुनः भारत फर्किने सोचमा छु”, उहाँले भन्नुभयो ।
कोरोना सङ्क्रमणको समस्याका बीच बिसु पर्व मनाउन कैलालीको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकीलगायतका सीमा नाका हुँदै स्वदेश भित्रिनेहरु बढ्दै गएका छन् ।
यो पर्वमा देवर–भाउजू, साली–भिनाजु, नन्द–भाउजू, जेठानी–देवरानीबीच एक आपसमा सिस्नु पानी छ्यापेर ठट्टा रमाइलो गर्ने गरेको विषयलाई आकर्षक पक्षका रूपमा लिइन्छ ।
यो पर्वमा आपसमा सिस्नुपानी छ्यापेर रमाइलो ठट्टा गर्ने चलन हो”, स्थानीयवासी भोजराज बडूले भन्नुभयो, तराईमा सिस्नु नपाउँदा भने सिस्नुपानी छ्यापेर रमाइलो गर्न पाउने अवस्था भने छैन ।
तराईका जिल्ला भन्दा पहाडका जिल्लामा यो पर्वको रौनक बढी देखिन्छ । सिस्नु पानी छ्याप्दा शरीरमा रहेका छालासम्बन्धी रोग निको हुने जनविश्वास छ । हरेक घरमा दहीमा चामल भिजाएर बनाइएको ‘दहीचामल’ आपसमा बाँडेर खाने चलनसमेत छ ।
यो पर्व मनाउने तयारीस्वरूप पहाडी गाउँबस्तीका घरपरिवारले आ–आफ्नो घरलाई रातो र कमेरो माटोले लिपपोत गरेर चिटिक्क पारेका छन् ।
घर लिपपोत गर्न नसक्नेको घरको लिपपोतको काम छिमेकी महिलाको सहयोगमा गर्ने गरिन्छ । लिपपोत गर्ने कामको नेतृत्व महिलाले गर्ने गर्छन् ।
यो पर्व किन मनाइन्छ भन्नेमा विभिन्न भनाइ छन् । स्थानीय शिक्षक लेखराज ओझा विक्रम सम्वत् शुरु भएको दिन भएकोले नयाँ वर्षको पहिलो दिन वैशाख १ गते ‘बिसु’ पर्व मनाउने चलन शुरु भएको बताउनुहुन्छ ।
गहुँ र दलहन जस्ता हिँउदे बाली भित्र्याएपछि पहिलो पटक घरमा नयाँ अन्नको ‘नौकोलो’ अर्थात् न्वागी पकाएर खाने चलन पनि रहेको छ”, ओझाले भन्नुभयो ।रासस,