बालुवाटारमा प्रधानमन्त्री ओलीले बोलाएको सर्वदलीय बैठकमा को को छन् सहभागी

काठमाडौं,बैशाख ४। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा सुरू भएको छ। बैठकमा  कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि सहभागी भएका छन्।

 

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्ल, नेमकिपाका प्रेम सुवाल, राप्रपाका प्रकाशचन्द्र लोहनी लगायतका नेता सहभागी भएको बालुवाटार स्रोतले जनाएको छ।

 

बैठकमा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री ओलीसँगै एमाले महासचिव ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री विष्णु पौडेल, राजन भट्टराईलगायत सहभागी छन्।

 

बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलका शीर्ष नेता सहभागी भएपनि नेकपा (माओवादी केन्द्र)ले भने बहिस्कार गरेको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहभागी नभएको उनको सचिवालयले जनाएको छ।

 

आफूहरुलाई सर्वदलीय बैठक हुनेबारे जानकारी नआएको भन्दै माओवादी पन्छिएको छ। प्रचण्डले सिंहदरबारमा बैठक राखे मात्र सहभागी हुने अडान राखेको बुझिएको छ।यसैगरी बैठकमा जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पनि सहभागी छैनन्।

 

बालुवाटार स्रोतका अनुसार संसदको हिउँदे अधिवेशन अन्त्य गर्नुअघि समसामयिक राजनीतिक विषयमाथि छलफल, कोरोना महामारी रोकथाम र नियन्त्रणलगायत विषयमा छलफल गर्न बैठक बोलाइएको हो।

 

पछिल्ला दिनमा नेपालमा कोरोना भाइरस तीव्ररुपमा फैलिरहेको छ। संक्रमित र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ।