भूकम्पको ६ वर्ष: पुनर्निर्माणमा ६ खर्ब ८५ अर्ब रुपैयाँ खर्च

काठमाडौं,बैशाख १२ । भूकम्पपछि बितेका ६ वर्षको अवधिमा भत्किएका संरचना पुनर्निर्माणमा मात्र कुल ६ खर्ब ८५ अर्ब ९० करोड ९५ लाख २७ हजार रुपैयाँ बराबरको खर्च भएको छ । पुनर्निर्माण प्राधिकरणका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को गत चैत मसान्तसम्म सो रकम खर्च भएको हो ।

 

यसैगरी, चालू आवको बितेका ९ महिना गतचैत मसान्तसम्म ३ खर्ब ५७ अर्ब ३ करोड बराबरको खर्च भएको छ । त्यसैगरी, आव २०७२/७३ मा २२ अर्ब ४७ करोड ५६ लाख ७१ हजार बराबरको खर्च भएको थियो ।

 

त्यस्तै, आव २०७३/७४ मा ४९ अर्ब ६९ करोड १७ लाख ३१ हजार, आव २०७४/७५ मा १ खर्ब १४ अर्ब ७८ करोड ११ लाख ५२ हजार खर्च भएको थियो ।

 

प्राधिकरणका अनुसार आव २०७५/७६ मा ८९ अर्ब ४३ करोड ७६ लाख १४ हजार र आव २०७६/७७ मा ५२ अर्ब ४९ करोड ३३ लाख ५९ हजार बराबरको खर्च भएको थियो । दाता सम्मेलनको क्रममा प्रतिबद्धता व्यक्त भएको रकम ४ खर्ब १० अर्ब रुपैयाँ बराबर थियो ।

 

त्यसमा ७६ अर्ब राहत तथा उद्धार एवं अन्य कार्यक्रममा खर्च भएको थियो । भारतीय एक्जिम बैंकतर्फको ४९ अर्ब रुपैयाँ नेपाल सरकारतर्फ स्रोतान्तर भएको हुँदा वास्तविक रकम जम्मा २ खर्ब ९४ अर्ब मात्रै रहेको छ ।

६ हजार विद्यालय भवन निर्माण

प्राधिकरणका अनुसार हालसम्म कुल ६ हजार २ सय ४६ वटा विद्यालय भवन पुनर्निर्माण भएका छन् । कुल ७ हजार ५ सय ५३ भवन निर्माण गर्ने लक्ष्य राखिएकामा ८२।७ प्रतिशत सम्पन्न भएका छन् ।

 

यस्तै १ हजार ३ सय ७ वटा भवन पुनर्निर्माणको भरमा छन् । कुल १ हजार १ सय ९७ स्वास्थ्य संस्था पुनर्निर्माण गर्ने लक्ष्य राखिएकामा हालसम्म ६ सय ९८ निर्माण सम्पन्न भएका छन् भने २ सय ९६ वटा पुनर्निर्माणका क्रममा छन् ।

 

सरकारी भवनतर्फ कुल ४ सय १५ वटामध्ये ३ सय ७४ वटाको पुनर्निर्माण सकिएको छ । ३८ वटाको भने पुनर्निर्माण जारी छ । सुरक्षा निकायतर्फ कुल २ सय १६ वटामध्ये २ सय १४ वटा सम्पन्न भएका छन् भने २ वटा पुनर्निर्माणका क्रममा छन् ।

 

 

२०७२ सालको १२ वैशाखमा गएको विनासकारी भूकम्पका कारण निजी आवासतर्फ १० लाख क्षति भएको थियो । पुनर्निर्माणका लागि सम्झौता गरेका लाभग्राहीको संख्या ८ लाख १० हजार ४ सय २७ छन् ।

 

 

प्राधिकरणले आगामी असार मसान्तसम्म नियमति काम गर्नेछ । २०७८ सालको १ साउनदेखि २०७८ पुस १० गतेसम्म रानीपोखरी, धरहरा, सिंहदरबारको पश्चिम खण्ड र नारायणहिटी दबार संग्राहलयभित्रको रणोद्दीपको दरबार पुर्ननिर्माणबाहेक सबै योजना तथा कार्यक्रम भने सम्बन्धित मन्त्रालय वा निकायमा हस्तान्तरण गर्ने कार्ययोजना तय भएको प्राधिकरणले जनाएको छ ।

 

 

प्राधिकरणका अनुसार भूकम्पले कुल १४ जिल्ला अति प्रभावित गरेको थियो भने ३२ जिल्ला प्रभावित भएको थियो । हालसम्म ६ लाख ३८ हजार ५ सय ४० लाभग्राहीले तेस्रो किस्ता लिएका छन् भने ७ लाख ४ हजार ४ सय ६७ लाभग्राहीले दोस्रो किस्ता र ८ लाख १० हजार ६ सय ३५ लाभग्राहीले पहिलो किस्तावापतको रकम लिएका छन् । घर निर्माण सुरु गरेका कुल लाभग्राहीको संख्या ७ लाख ५३ हजार १ सय ४ रहेका छन् ।राजधानी दैनिकमा खबर छ।