एमाले फुट्ने निश्चित,ओलीको अग्नि परीक्षा सुरु

काठमाडौं,बैशाख २६। नेकपा एमाले भित्रकाे आन्तरिक किचलो र अध्यक्ष केपी शर्मा ओलीको एकलौटी निर्णयका कारण फुट्ने पक्का भएको छ । शनिबार वरिष्ठ नेता माधव नेपाल समूहले प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीलाई १३ घण्टे अल्टिमेटम दिएको छ ।

 

 

नेपाल समूहका नेता योगेश भट्टराईले बैठकबारे जानकारी दिँदै पार्टी फुटाउने वा मिलाउने जिम्मा ओलीलाई दिइएको बताएका छन् । उनले अध्यक्षका हैसियतमा पार्टी फुटाउने वा मिलाउने ओलीको दायित्व रहेको समेत बताए ।

 

 

आजको बैठकमा नेपाल समूहले पार्टीलाई ०७५ जेठ २ मा फर्काउने प्रतिबद्धता व्यक्त गर्न र यसअघि गरिएका एकलौटी निर्णय खारेज गर्न अल्टिमेटम दिएको छ । यद्यपि यी मागहरु सुनुवाई नभइ पेलेर जाने चेष्टा गरियो भने कठोर निर्णय गरिने समेत उक्त समूहले बताएको छ।

 

 

अब पार्टीलाई जोगाउन मुख्य भूमिका अध्यक्ष ओलीको देखिएको छ । यदि ओली लचक बनेर यसअघिका निर्णय खारेज गर्दै ०७५ जेठ २ मा फर्कने निर्णय गरे भने पार्टी जोगिने देखिएको छ । नभए भोलि बिहान ९ बजेपछि नेकपा एमालेको भविष्य अन्यौल देखिएको छ ।