तरकारी बिक्री आधा घट्यो

काठमाडौँ, वैशाख २७। ६० प्रतिशत नेपाली र ४० प्रतिशत भारतीय तरकारी तथा फलफूलले कब्जा जमाएको कालीमाटी फलफूल तथा तरकारी बजारमा ५० प्रतिशतले बिक्री घटेको छ ।

 

कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत रहेको कालीमाटी फलफूल तथा तरकारी बजार समितिद्वारा सञ्चालित सो बजारमा थोक तथा खुद्रा उपभोक्ता जान छाडेपछि बिक्री घटेको समितिका कार्यकारी निर्देशक विनोद भट्टराईले बताउनुभयो ।

 

“निषेधाज्ञा सुरु भएको दुईरतीन दिन सामान्य समयभन्दा बढी बिक्री वितरण भएको थियो । त्यसपछि घट्दै गयो, अहिले आधामा झरेको छ, उहाँले भन्नुभयो,आवागमन कम भयो, होटेल पार्टी प्यालेस बन्द भए र थुप्रै मान्छे काठमाडौँ छाडेर हिँडिसकेकाले एकाएक बिक्रीमा कमी आएको छ । 

 

पहिला दैनिक करिब नौ सय मेट्रिक टन तरकारी तथा फलफूल बिक्री हुन्थ्यो, अहिले चार सय मेट्रिक टनमा झरेको छ, उहाँले बताउनुभयो । बिक्री वितरण कम हुँदा यसको सीधै असर किसानमा पर्छ । पोखरा, चितवन, बाँकेलगायतका जिल्लामा उत्पादन भएका तरकारी बिक्री नहुँदा खेतमै कुहिरहेका छन् ।

 

तरकारीको मुख्य बिक्री केन्द्र कालीमाटीलगायत बल्खु, बागबजारको टुकुचा, बानेश्वर, तीनकुने, शान्तिनगर, जडीबुटी, च्यासललगायतका तरकारी बजारमा पनि बिक्री ह्वात्तै घटेको छ ।

 

बजारमा उपभोक्ता नै नआएपछि व्यापारीले पनि तरकारी ल्याउन छाडेको कार्यकारी निर्देशक भट्टराईले बताउनुभयो । व्यापारीले जति बिक्री हुन्छ त्यति नै बजारमा ल्याइरहेका छन् ।

 

किसानको खेतबाट व्यापारीले तरकारी नै उठाइरहेका छैनन् भने किसानले पनि यो कोरोनामा जोखिम लिन नचाहेको उहाँले बताउनुभयो । बल्खु तरकारी तथा फलफूल बजारका सञ्चालक मोहनकुमार बस्नेतले भन्नुभयो,यहाँ ६० प्रतिशत बिक्री कम भयो । बजारमा तरकारीको अभाव छैन, ग्राहकको अभाव भयो । 

 

चितवनका किसान चन्द्र अधिकारीले भन्नुभयो,पहिलो चरणको कोरोनाको समयमा निकै दुःख पाइयो । थुप्रै घाटा भयो भनेर यसपालि थोरैथोरै तरकारी लगायौँ, त्यो पनि बिक्री हुन गाह्रो भइरहेको छ । 

 

बिक्री नभएका तरकारी खेतमै छन्, केही तरकारी शीतभण्डारमा पनि राखेको बताउँदै उहाँले एक त उपभोक्ता छैनन् अर्कोतिर बजारसम्म लान ढुवानीको पनि समस्या भइरहेको बताउनुभयो । त्यस्तै समस्या किसानहरू अर्जुन श्रेष्ठ, कृष्ण देवकोटा, मनबहादुर शाही, कृष्ण घिमिरेको पनि रहेको छ ।

आलु, प्याज, लसुन, अदुवालगायतका वस्तुलाई शीतभण्डारमा पनि राख्न सकिन्छ तर हरियो तरकारी बिक्री भएन भने याल्नुबाहेक अरू कुनै उपाय नरहेको उहाँहरू बताउनुहुन्छ ।

 

बाँकेका किसान विनोद भुसालले खेतमा फलेको गोलभेँडा बजारसम्म लग्न नसकेपछि खेतीमै कुहेको बताउनुभयो । गोलभेँडा बिक्री नहुँदा १० लाख घाटा भएको उहाँले बताउनुभयो ।

 

समितिका अनुसार अहिले कालीमाटी तरकारी बजारमा ६० प्रतिशत नेपाली उत्पादन र ४० प्रतिशत भारतीय उत्पादन आउने गरेको छ । बोडी, सिमी, घिरौँला, लौकालगायत मौसमी तरकारी नेपाली उत्पादनका आएका छन् भने भारतबाट माछा, कागती, आलु र प्याज आउने गरेको छ ।

 

समितिले स्थानीय तहसँगको समन्वयमा जुनसुकै समयमा कालीमाटीमा तरकारी ल्याउनसक्ने व्यवस्था मिलाएको छ तर खरिद बिक्रीका लागि भने राति १ः०० देखि बिहान ९ः०० बजेसम्मको समय तोकेको छ ।गोरखापत्र दैनिकम खबर छ।