प्रधानमन्त्री ओलीले आज विश्वासका मत लिँदै

काठमाडौं,बैशाख २७ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा विश्वासको मत लिंदै हुनुहुन्छ ।संसदमा विश्वास गुमाउनु भएका प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लाग्नुभएको हो । विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा आजै सबै प्रक्रिया टुंग्याइने भएको छ ।

 

संघीय संसद कार्यव्यवस्था परामर्श समितिको बैठकले विश्वासको मतदान सम्बन्धी सबै प्रक्रिया एकै दिनमा टुंग्याउने निर्णय गरेको हो । संघीय संसद सचिवालयले तय गरेको कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट संसदको विशेष अधिवेशन आह्वान सम्बन्धि पत्र पढेर सुनाउने कार्यसुची छ ।

 

आजै प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत माग्ने र मत विभाजन गर्ने तय भएको छ । आफ्नै पार्टीमा सन्तुलन कायम गराउन नसकेका प्रधानमन्त्री ओलीले विश्वासको मत नपाउने पक्का भएको छ ।

 

नेकपा एमालेका २० जना सांसद अझै पनि ओलीलाई विश्वासको मत दिने पक्षमा देखिएका छैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन गत साता फिर्ता लिएकाले विपक्षमा मतदान गर्ने छ ।

 

 

जनता समाजवादी पार्टीले ह्विप जारी नगरेप नि उपेन्द्र–बाबुराम पक्षले विपक्षमा मतदान गर्ने छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्षका सांसद तटस्थ बस्ने छन् ।

 

 

योसँगै ओली नेतृत्वको सरकारले संसदमा विश्वासको मत नपाउने भएको हो । दुई तिहाइ मतसहित सत्तारोहण गरेका प्रधानमन्त्री ओलीले संसदबाट विश्वास गुमाउन लाग्नुभएको हो ।

 

 

आजको बैठकमा कोरोना संक्रमण देखिएका सांसदलाई मतदानका लागि छुट्टै व्यवस्था गरिने भएको छ । प्रतिनिधिसभाका २६ सांसदमा संक्रमण देखिएको छ । परीक्षण गर्न बाँकी ४८ सांसदको बैठकअघि नै नतिजा आइसक्ने गरी तत्काल थ्रोट स्वाब नमूना संकलन गर्ने तयारी छ ।