विपक्षी गठबन्धनको बैठक अचानक स्थगित
काठमाडौं,बैशाख २८। विपक्षी गठबन्धनको २ बजे बस्ने भनिएको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बस्ने भनिएको बैठक स्थगित भएको हो । राष्ट्रपतिले दिएको समयभित्र वैकिल्पक सरकार दावी गर्नका लागि बैठक बोलाइएको थियो ।
कांग्रेसले पार्टीभित्र आन्तरिक छलफल गरेपछि मात्रै अरु दलहरुसँग छलफल गर्ने तयारी गरेपछि बैठक स्थगित भएको हो । कांग्रेसको पदाधिकारी बैठक आजै ३ बजे बस्दैछ।
जसपा अध्यक्ष महन्थ ठाकुरले वैकल्पिक सरकार गठनमा पार्टी संलग्न नहुने वक्तव्य दिइसकेको र राष्ट्रपतिलाई लिखित जानकारी गराउने कुरा आएपछि देउवाले आन्तरिक छलफल गर्न लागेको बताइन्छ।
कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेको माधव नेपाल पक्षबीच अनौपचारिक छलफलहरू चलिरहे पनि औपचारिक बैठक त्यसपछि मात्र बस्ने भएको छ ।