मास्कको प्रयोग गर्दा अनुहारमा आउने समस्याबाट कसरी बच्न सकिन्छ,यस्ता छन् ४ उपायहरू
काठमाडौं। विश्व नै कोरोना महामारीले थलिएको छ । कोरोनाले जनजीवनमा त्रास मात्रै फैलिएको छैन, यसबाट बच्न र बचाउन मास्कको प्रयोग अनिवार्य बनेको छ । मास्कको नियमित प्रयोगबाट अनुहारको छालामा विभिन्न समस्या देखिन थालेको छ ।
मास्कका कारण छालामा आएका समस्याबाट बच्ने उपाय
१-छालाको विशेष हेरचाह
अहिले लगभग दिनभरि मास्कको प्रयोग गर्नुपर्ने भएकाले नियमित रूपमा गरिने छालाको हेरचाहको तालिकामा जसरी पहिले मुख धुने तथा टोनर, मोस्चराइजर र सनब्लक लगाउने जस्ता प्रक्रियाहरू छन् ।
यसमा थोरै परिवर्तन गरी अनुहारमा लगाउने सौन्दर्य प्रसाधन सकेसम्म कम गर्नुपर्छ । एकमाथि अर्को प्रसाधन र त्यसमाथि पनि मास्क लगाउदा छालाको छिद्र बन्द हुने र त्यसले नै मास्कने हुन सक्छ ।
त्यसैले मास्क लगाउने भागमा पहिले राम्रोसग धोएर, हल्का प्रकारको मोस्चराइजर मात्र लगाउने र अनुहारको माथिल्लो भागमा सनब्लक लगाउनुपर्छ ।
राति अनुहारमा दुई पटक क्लिन्जिङ गर्नुपर्छ । यसो गर्दा दिनभर मास्क लगाएर हुन सक्ने कीटाणुको संक्रमण कम गर्छ । त्यसपछि टोनर, मोस्चराइजर राम्रोस“ग लगाउनुपर्छ ।
२-मेकअपको कम प्रयोग
मास्क लगाउने बेला आवश्यक नभए मेकअप प्रयोग नगर्नु नै उपयुक्त हुन्छ । मेकअप गर्नुपरेमा विशेष प्रसाधन र तरिका अपनाउनुपर्छ ।
मेकअप गर्दा मास्क लगाइन्छ भन्ने कुरालाई ध्यानमा राख्दै सकेसम्म वेश कम गर्ने, फाउन्डेसन, कन्सिसलर, सेटिङ पाउडर, कम्प्याक्ट पाउडर, सेटिङ स्प्रेको प्रयोग नगरी हल्का मोस्चराइजरमाथि म्याट फिनिस पाउडर ड्याबिङ मोसनमा लगाउनु उपयुक्त हुन्छ ।
यतिमात्र लगाई वेश कम गर्न सकिन्छ । यसको सट्टामा आँखाको मेकअप अलि आकर्षक गर्न सकिन्छ । फुल भोलम मस्कारा लगाउनुका साथै केसलाई विभिन्न आकर्षक तरिकाले बनाउन सकिन्छ ।
आखीभौंको आकर्षक मेकअप गर्न सकिन्छ । र, मेकअपको प्रसाधन ओइल फ्रि र म्याट हुनु जरुरी छ । लिपिस्टिक म्याटको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
३-मास्क लगाउने तरिका
सही तरिकाले मास्क लगाउन जरुरी छ । यसका लागि धोएर पुनः प्रयोग गर्न मिल्ने मास्क पनि प्रयोग गर्न सकिन्छ । यस्तो मास्कलाई पुनः प्रयोग गर्दा राम्ररी धोएर घाममा सुकाएर लगाउनुपर्छ ।एक पटक मात्र प्रयोग गर्न हुने मास्क पटक–पटक प्रयोग गरेमा स्वास्थ्यका साथै छालामा पनि असर पार्न सक्छ ।
मास्क लगाउदा मेकअप नबिग्रिनका लागि आफूले लगाउने मास्कको भित्री भाग सुख्खा टिस्यु पेपर राखेर लगाउदा मेकअप नबिग्रिनुका साथै कीटाणुको संक्रमण पनि कम हुन्छ । आफूले एक पटक मास्क फुकालेपछि सोही मास्क फेरि प्रयोग गर्दा पहिले जस्तै सुख्खा टिस्यु पेपर राखेर प्रयोग गर्नुपर्छ ।
४-ओठको हेरचाह
मास्क लगाउने मानिसको ओठ ज्यादा सुख्खा र च्यापच्याप टाँसिने हुनसक्छ। तसर्थ, ओठमा लिप बाम वा पेट्रोलियम जेली वा भेसलिन लगाउनाले ओठ सुख्खा हुँदैन। यसलाई कम्तीमा ३-४ पटक लगाउने गर्नुपर्छ।