आज पनि एमाले कार्यदलको बैठक बस्दै,यी विवाद समाधान गर्न छलफल हुँदै

काठमाडौं,जेठ ५। नेकपा एमाले भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक बुधबारपनि बस्ने भएको छ । यसअघि मंगलबार सिंहदरबारमा पहिलो बैठक बसेको थियो ।

 

 

पहिलो बैठकले ठोस निर्णय नगरेपनि देखिएका विवाद समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । बैठकले पार्टी पंक्तिलाई एकआपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने काम कुराबाट अलग रहन पार्टी पंक्तिलाई आव्हान गरेको छ ।

 

 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा साँझ ७ बजे बस्ने बैठकले कार्यदलको कार्यविधि,आचारसंहिताबारे छलफल गर्ने कार्यदलमा सहभागी नेता भीम रावलले बताए ।

 

 

पार्टी विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालले कार्यदल बनाएका थिए।कार्यदलमा दुवैतर्फका ५—५ जना नेता रहेका छन्।