यी मागसहित प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेट्दै

काठमाडौं,जेठ ६।नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)ले कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको छ । बिहीबार पेरिसडाँडाँस्थित केन्द्रीय कार्यालयमा बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड १९ संकट व्यवस्थापन केन्द्र(सिसिएमसी) खारेज गर्न माग गरेको हो ।

 

विपत सम्बन्धी घटनाहरु हेर्नका लागि विभिन्न सरकारी संयन्त्र भएपनि तिनलाई काम गर्न नदिई कानुनी हैसियत नभएको सिसिएमसी गठन गरिएको र सिसिएमसी मार्फत् अनियमितता र भ्रष्टाचार भएको भन्दै त्यसलाई खारेजी गर्नुपर्ने नेकपा(माओवादी केन्द्र)का नेता वर्षमान पुनले बताए।

 

माओवादी केन्द्रले सरकार एक्लैले कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्भव नुहने भन्दै प्रधानमन्त्रीको नेतृत्वमा विज्ञ तथा नागरिक समाज समेतका संलग्नतामा सर्वदलिय र सर्वपक्षिय समिति बनाउनुपर्ने पनि बताएको छ ।

 

 

बैठकले अक्सिजन लगायतका स्वास्थ्य सामग्रीहरुको सप्लाई, सरकारी तथा नीजि अस्पतालहरुको क्षमतावृद्धि, कोभिड संक्रमितलाई आवश्यक बेडको वृद्धि र आइशोलेसन, आईसियु, भेन्टिलेटर लगायतको क्षमता विस्तार गर्न पनि सरकारलाई ध्यानाकर्षण गराएको छ ।

 

 

कोभिड १९ विरुद्ध फ्रन्टलाइनमा खट्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायतलाई जोखिम भत्ता उपलब्ध गराउन तथा फ्रन्टलाइनरका परिवारलाई कोभिड १९ विरुद्धको खोप लगाउने व्यवस्था मिलाउन सरकारले ध्यान दिनुपर्नेमा पनि जोड दिईएको छ ।

 

 

माओवादीले अध्यक्ष प्रचण्डको नेतृत्वमा कोभिड १९ विरुद्ध लड्ने टिम बनाउने र ३ लाख बढी पार्टीका नेता, कार्यकर्तालाई परिचालन गर्ने पनि नेता पुनले जानकारी दिनुभयो । ५ दिनभित्र प्रदेश, जिल्ला र वडा तहसम्म पुगेर समिति गठन गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्ने भएको छ । यसबारेमा सम्पूर्ण जानकारी भोली पत्रकार सम्मेलन गरी दिइने पनि नेता पुनले बताए।

 

 

भोलि नै माओवादी केन्द्रले कोभिड १९ को रोकथाम तथा नियन्त्रणको सन्दर्भमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ध्यानाकर्षण गराउने पनि माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए।