ओलीलाई नौ जनाको हत्यारा भन्दै डा.केसीले निकाले यस्तो,विज्ञप्ति,जबरजस्ती अवैध सम्बन्धन दिए सत्याग्रह सुरु गर्ने चेतावनी

काठमाडौं,जेठ १० । चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा.  गोविन्द केसीले ‘माफिया’ले सञ्चालन गरेको मेडिकल कलेजलाई जबरजस्ती अवैध सम्बन्धन दिए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको छ ।

 

 

यमनको मरिबबाट प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको आरोप लगाउँदै सम्बन्ध दिए सत्याग्रह सुरु गर्ने चेतावनी दिनुभएको हो ।

 

 

साथै उहाँले प्रधानमन्त्री ओली संरक्षित मेडिकल ‘माफियाका नाइके’द्वारा आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि भौतिक आक्रमणको धम्की नागरिकमाथि हुने राज्य आतंकको नमुना जनाउनुभएको छ ।

 

 

सोमबार बिहान प्रितम सुवेदीले आफूमाथि झापाको बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाइँले भौतिक आक्रमणको चेतावनी दिएका थिए ।

 

 

डा.केसीद्वारा जारी विज्ञिप्तमा भनिएको छ, ‘प्रधानमन्त्री ओलीले आफू र आफ्ना आसेपासेको कालो धनको लगानीबाट स्थापित निजी संस्थाहरुको दुषित स्वार्थपूर्तिका खातिर कानून बनाउने, राज्य कब्जा गर्ने र राज्यका संस्थाको चरम दूरुपयोग गर्ने कार्य गर्दै आएको कुरा नौलो होइन ।

 

 

 

उहाँले आपराधिक आर्जनको लगानी गरी चिकित्सा शिक्षाको व्यापारिकरण गर्ने मेडिकल माफियाका प्रमुख संरक्षक प्रधानमन्त्री ओली भएको आरोप लगाउनुभएको छ ।

 

 

आफ्ना आर्थिक र राजनीतिक साझेदार मध्येका एक व्यक्तिले सञ्चालन गर्न लागेको झापा स्थित निजी मेडिकल कलेजलाई गैरकानूनी रूपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको उहाँको भनाइ छ ।

 

 

चिकित्सा शिक्षा नियमावली २०७७ का अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने स्मरण गराउँदै डा।केसीले बी एण्ड सी मेडिकल कलेजले २०७३ सालयता आसयपत्र नवीकरण नगरेको दावी गर्नुभयो ।

 

 

त्रिवि र केयु दुवैले यस अगाडि नै पाँचभन्दा बढी मेडिकल कलेजहरूलाई सम्बन्धन दिइसकेका कारण चिकित्सा शिक्षा ऐन अनुसार थप मेडिकल कलेजलाई सम्बन्धन दिन नसक्ने उहाँले स्मरण गराउनुभयो ।

 

 

यस्तो अवस्थामा प्रधानमन्त्रीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरुलाई बाध्य पार्न खोजेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले नै अवैध कार्य गराउने यस्तो कार्य विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध भएको उहाँको ठहर छ ।

 

 

साथै उहाँले प्रधानमन्त्री ओलीलाई झापा घटनामा भएको ९ जनाको हत्याकाण्डको मुख्य योजनाकार भएको बताउनुभयो । ओलीले उनी २०२८ साल देखि २०२९ साल सम्म झापाका ग्रामिण कृषक, समाजसेवी र सर्वसाधारण गरी नौ जना व्यक्तिको हत्यामा संलग्न भएको अदालतले समेत पुष्टि गरेको उहाँको भनाइ छ ।

 

 

केसीको विज्ञप्तिमा भनिएको छ, ‘उनी(केपीशर्मा ओली) धर्मप्रसाद ढकाल, ज्ञानप्रसाद ढकाल, बुटन चौधरी, विष्णुप्रसाद विमली, रुद्रकान्त राजवंशी, ईश्वरी चुडाल, दुर्गा खरेल, ज्ञान बहादुर बस्नेत, कर्ण बहादुर गौतमको हत्यामा संलग्न व्यक्ति हुन् ।

 

 

अदालतले समेत व्यक्ति हत्याको घट्नामा संलग्न भनी हत्यारा ठहर गरेको व्यक्तिलाई शासन सञ्चालनको जिम्मेवारीमा पुग्न दिनु हामी नेपाली जनताको पनि दुर्भाग्य हो भन्ने कुरा मनन गर्नु आवश्यक छ ।

 

 

यस्तै, डा.केसीले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर त्यस खाले अवैध निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरूलाई अपिल गर्नुभएको छ ।