स्कूल तहको परीक्षा टेलिफोनबाट

काठमाडौं,जेठ १२। कोरोना महामारीका कारण भौतिक उपस्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएपछि विद्यालयले वैकल्पिक विधिबाट विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन थालेका छन् ।

 

जेठभित्र परीक्षा सञ्चालन, नतिजा प्रकाशन कार्य पूरा गरी असारबाट नयाँ शैक्षिक सत्र शुरू गर्ने योजनाका साथ राजधानीका सामुदायिक विद्यालय यसको तयारीमा जुटेका हुन् ।

 

 

भौतिक उपस्थितिमा परीक्षा सम्भव नभएपछि विद्यालयले अनलाइन माध्यम, परियोजना गृहकार्य, मोबाइलबाट मौखिक परीक्षा, निरन्तर विद्यार्थी मूल्यांकन लगायतको माध्यमबाट विद्यार्थीको सिकाइ उपलब्धिको मूल्यांकन गर्ने कार्य शुरू गरेका छन् ।

 

 

राजधानीको सरस्वती निकेतन माध्यमिक विद्यालयले अनलाइन माध्यमका आधारमा विद्यार्थीको अन्तिम वार्षिक परीक्षा लिन शुरू गरेको छ । अनलाइनमा जोडिन सम्भव नहुने विद्यार्थीलाई टेलिफोनबाट परीक्षा लिइएको छ ।

 

 

परीक्षा जेठ १४ गते सक्ने विद्यालयको योजना छ । सो विद्यालयका प्रधानाध्यापक रविना महर्जनले माथिल्लो कक्षाका ८० प्रतिशत जति विद्यार्थी अनलाइनमा जोडिएकाले परीक्षा सञ्चालनमा सहज भएको बताइन् ।

 

 

फोनमा समेत सम्पर्क हुन नसक्ने केही विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्यांकनको माध्यमबाट कक्षा स्तरोन्नति गरिने प्रअ महर्जनले जानकारी दिइन् ।

 

 

यसअघि यो विद्यालयले विद्यार्थीको भौतिक उपस्थितिमा २ पटक परीक्षा लिइसकेका कारण त्यसको समेत आधारमा विद्यार्थीको अन्तिम सिकाइ उपलब्धि मूल्यांकन गरिने जनाइएको छ ।

 

 

राजधानीकै जनपथ माध्यमिक विद्यालयले अनलाइनमा उपलब्ध विद्यार्थीलाई सोही माध्यमबाट परीक्षा लिने भएको छ । जेठ १३ गतेदेखि परीक्षा शुरू गरी २२ गतेसम्म सक्ने विद्यालयको कार्यतालिका छ ।

 

 

सबै विद्यार्थी अनलाइनमा जोडिन नसकेकाले केही विद्यार्थीलाई मोबाइलमा प्रश्न सोधेर पनि अन्तिम परीक्षा लिइने विद्यालयका प्रधानाध्यापक जितबहादुर लामिछानेले जानकारी दिए ।

 

 

विद्यालयले टेलिफोनमा सम्पर्क हुन नसक्ने विद्यार्थीलाई निरन्तर विद्यार्थी मूल्यांकनबाट समेत विद्यार्थीको सिकाइ उपलिब्धको परीक्षण गर्नेछ ।

 

 

ललितपुरको आदर्श सौल माध्यमिक विद्यालयले अनलाइनबाटै परीक्षा लिने तयारी गरेको जनाएको छ । जेठ १३ गतेदेखि नै परीक्षा शुरू गरी २१ गते परीक्षा सक्ने विद्यालयको योजना छ ।

 

अनलाइनमा जोडिन नसकेका विद्यार्थीलाई घरमा नै परियोजना कार्य दिएर परीक्षा लिइने विद्यालयका प्रअ सरोजभक्त आचार्यले जानकारी दिए।

 

 

यसका अतिरिक्त फोनबाटै पनि परीक्षा लिने योजना बनाइएको छ । परीक्षा सकिएपछि पुनः समीक्षा गरी छुट भएका विद्यार्थीको परीक्षा लिइने उनले जानकारी दिए ।

 

 

विद्यालयहरूले कक्षा ६ भन्दा तल्लो तहका विद्यार्थीलाई भने परीक्षाभन्दा निरन्तर विद्यार्थी मूल्यांकन र यसअघि विद्यायलले सञ्चालन गरेको पहिलो र दोस्रो त्रैमासिक परीक्षाका आधारमा निर्णय गर्ने भएका छन् ।

 

 

काठमाडौं महानगरपालिकाले जेठ २० गतेसम्म परीक्षाको सबै कार्य पूरा गरी असार पहिलो सातादेखि नयाँ शैक्षिक सत्र शुरू गर्न मातहतका सबै विद्यालयलाई निर्देशन दिइसकेको छ । सरकारले नयाँ शैक्षिक सत्र २०७८ सालको असारबाट शुरू गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।गोरखापत्र दैनिक