खेलकुद क्षेत्रमा २ अर्ब ७४ करोड बजेट बिनियोजन

काठमाडौं,जेठ १५। आगामी आर्थिक वर्षमा खेलदुकको बजेट वृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलका अनुसार आगामी आर्थिक वर्षमा खेलकुदका लागि २ अर्ब ७४ करोड रुपैयाँ विनियोजन भएको यो गत वर्गको तुलनामा ३८ करोडले बढी हो ।

 

 

सरकारले सक्रिय खेल जीवनबाट निवृत भएका खेलाडीलाई सहुलियत कर्जा उपलब्ध गराउने, प्रादेशिक रंगशाला, हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर तथा नवौं राष्ट्रिय खेलकुदको आयोजना लगायतका विषयलाई समेटेर उक्त रकम विनियोजन गरेको हो ।

 

 

अर्थमन्त्री पौडेलले झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने बताए ।

 

 

यस्तै मोरङको वैदनाथपुर, काठमाडौंको मूलपानी, दाङको लमही, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न पनि बजेट विनियोजन भएको छ ।

 

 

यस्तै धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाइने छ ।

 

 

आगामी वर्ष सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने मन्त्री पौडेलले जानकारी दिए ।