खतरानाक कालो ढुसीले नेपालमा दुई जनाको मृत्यु,यस्ता छन् बच्ने उपाय

काठमाडौ,जेठ १९। कालो ढुसीका कारण नेपालमा दुई जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा उपचार गराइरहेका २ जनाको मृत्यु भएको हो ।

 

अस्पतालमा तीनजना बिरामीमा कालो ढुसीको लक्षण् देखिएको थियो । तर उनीहरुको उपचार सुरु हुनभन्दा पहिले नै मृत्यु भएको हो । अहिले एक जनालाई उपचारका लागि काठमाडौं पठाइएको अस्पताल स्रोतले जनाएको छ ।

 

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार हालसम्म वीरगञ्जमा दुईजना, नेपालगञ्जमा तीनजना, नर्भिक अस्पतामा एकजना, त्रिवि शिक्षण अस्पतालमा दुईजना र वीर अस्पतालमा दुईजना गरी हालसम्म १० जनामा कालो ढुसी देखा परेको रिपोर्ट आएको छ।

 

अरु दुईजनामा पनि ब्ल्याक फंगस देखिएको आशंका गरिएको छ।

 

काठमाडौं उपत्यकामा पनि कालो ढुसीको संक्रमित फेला परिसकेको छ ।

 

कोभिड–१९ भएका बिरामीमा आँखा, नाक र अनुहार बिगार्ने कालो ढुसीको संक्रमण नेपालमा केही मानिसमा पुष्टि भएको भन्दै स्वास्थ्य मन्त्रालयले सचेत गराएको छ ।

 

 

यो संक्रमण विरलै देखिने तर संक्रमण गम्भीर भएर प्राणघातक पनि हुन सक्ने भएकोले समयमा नै ध्यान पु¥याउनु आवश्यक रहेको विज्ञहरुले जोड दिएका छन् । यो कोरोना जस्तो एक मानिसबाट अर्को मानिसमा भने नसर्ने पाईएको छ।

 

कालो ढुसीका सामान्य प्रारम्भिव लक्षणहरु

 

अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने

 

ज्वरो आउने

 

आँखा र नाक सुन्निने, रातो हुने वा दुख्ने

 

आँखाको ढकनी सुनिने र ढकनी झुक्ने, आँखाले धमिलो देख्ने

 

नाकको वरिपरिको छालाको रंग कालो हुँदै जाने, रगत बग्ने, बाक्लो सिंगान आउने

 

दाँत दुख्ने वा हल्लिने

 

ढुसी संक्रमणको उच्च जोखिम भएकाहरु

 

कोभिड–१९ उपचारका क्रममा स्टेरोइड प्रयोग गरेका व्यक्तिहरु

 

चिकित्सकको सल्लाह बिना एन्टिवायोटिक वा अन्य औषधीको जथाभावी प्रयोग गर्नेहरु

 

मधुमेह भएका वा शरीरको रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरु

 

घरमा आइसोलेसनमा बस्दा अपनाउन सकिने

 

सफा र सुख्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्कको पुनः प्रयोग नगर्ने

 

नियमित रुपमा हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने

 

व्यक्तिगत सरसफाईमा ध्यान दिने

 

घर बाहिर वा फोहोरमा काम गर्नु परे डिस्पोजेबल पञ्जाको प्रयोग गर्ने

 

धेरै धुलो भएको र ओसिलो ठाउँमा नजाने

 

नुनिलो पानीले नाक सफा गर्ने

 

पोभिडोन आयोडिन भएको तरल पदार्थले घाँटी र मुख कुल्ला गर्ने

 

मधुमेह भएका बिरामीले सुगर नियन्त्रणमा राख्ने

 

स्वास्थ्यकर्मीको सल्लाहमा मात्रै औषधी प्रयोग गर्ने