यादवले पठाए आयोगलाई जवाफ,ठाकुर के गर्दैछन्

काठमाडौं,जेठ २०। जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव समूहले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् । यादव समूहले आज अन्तिम समयमा आयोगले मागे अनुरुपका कागजात बुझाएको हो ।

 

 

 

सत्ता समीकरणमा सत्तारुढ एमालेलाई समर्थन गर्ने कि विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाको गठबन्धनलाई सहयोग गर्ने भन्‍ने विषयमा मतैक्यता हुन नसक्दा अध्यक्ष यादव र अर्का अध्यक्ष महन्थ ठाकुरले एक अर्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेका थिए ।

 

 

 

मंगलबार एकले अर्कालाई कारबाही गर्दै राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५१ बमोजिम एकले अर्काको नाम हटाएर अद्यावधिक गरिदिन निर्वाचन आयोगलाई पत्राचार गरका थिए ।

 

 

तर, आयोगले बुधबार कानुनी प्रक्रिया अनुरुप नभएको भन्दै प्रक्रिया पुर्‍याएर पठाउन दुवै अध्यक्षलाई पत्राचार गरेको थियो।

 

 

आयोगले यादवलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुचुची १८ बमोजिमको ढाँचामा विवरण पठाउन भनेको थियो ।

 

 

ठाकुरलाई अनुसूची १८ को यो ढाँचासहित केन्द्रीय कार्यकारिणी समितिको बैठकको हस्ताक्षरसहितको माइन्यूट पनि पठाउन भनेको थियो ।

 

 

यता, ठाकुर समूहका कार्यकारिणी समिति सदस्य केशव झाले आयोगको पत्र आएको तर, जवाफ नपठाएको जानकारी दिए ।