कोरोना परीक्षण किन घट्यो,परीक्षण घट्दा संक्रमित पनि कम

काठमाडौं,जेठ २३ । केही दिनयता कोरोना परीक्षण दर घटेको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो एक साताको तथ्याकं विश्लेषण गर्दा दैनिक सरदर १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण हुँदै आएको छ ।

 

गत आइतबारदेखि हिजो शनिबारसम्म कुल १ लाख १ हजार २ सय ८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको छ । यसरी हेर्दा दैनिक १४ हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण भएको देखिन्छ ।

 

 

यसअघि, २२ हजार जनासम्मको कोरोना परीक्षण हुने गरेको थियो । देशभरका ९० बढी अस्पताल तथा प्रयोगशालाबाट परीक्षण गरिँदै आए पनि परीक्षण दर केही दिनयता न्यून देखिएको छ ।

 

 

नमुना संकलन नै कम भएकाले परीक्षणमा कमी आएको स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन् । जनस्वास्थ्य विज्ञले समुदायस्तरमा निकै न्यून मात्रामा परीक्षण हुने गरेको बताएका छन् । परीक्षण दर कम हुँदा संक्रमित संख्यासमेत घटेको छ ।

 

 

मन्त्रालयका प्रवक्ता डा। कृष्णप्रसाद पौडेलका अनुसार केही प्रयोगशाला तथा अस्पतालले परीक्षण ‘रिपोर्टिङ’ नदिँदा पनि संख्या कम देखिएको हो । ‘अस्पताल जानेको संख्या पनि कम हुँदै गएको छ,’ डा।पौडेलले भने, ‘रिपोर्टिङ कम भएर पनि संख्या घटेको हुन सक्छ ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार वीर अस्पताल, गौर अस्पताल, सशस्त्र प्रहरी अस्पताललगायतले हिजो शनिबार कोरोना परीक्षण रिपोर्टिङ नै गरेनन् ।

 

 

डा. पौडेलले अस्पतालमा आउनेको संख्यामा पनि कमी भएका जानकारी दिए । पीसीआर परीक्षण घटे पनि एन्टिजेन दायरा बढाइएको मन्त्रालयले जनाएको छ ।

 

 

गत आइतबारदेखि हिजो शनिबारसम्म पीसीआर विधिबाट १ लाख १ हजार २ सय ८ र एन्टिजेन विधिबाट २५ हजार १ सय ८५ जनाको कोरोना परीक्षण गरिएको छ । जसमा ३९ हजार ५२ जनामा संक्रमण पुष्टि भएको छ ।

 

 

गत आइतबार १० हजार ९ सय ८६ जनाको पीसीआर र १ हजार ४ सय ८४ जनाको एन्टिजेन, सोमबार १५ हजार ५५ जनाको पीसीआर र २ हजार ४ सय २५ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

 

 

स्वास्थ्य मन्त्रालयका अनुसार गत मंगलबार १७ हजार १ सय ४७ जनाको पीसीआर र ३ हजार १८ जनाको एन्टिजेन, बुधबार १३ हजार ८ सय ५ जनाको पीसीआर र ३ हजार ७३ जनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण भएको छ ।

 

 

गत बिहीबार १८ हजार ५ सय ६२ जनाको पीसीआर र ३ हजार २ सय ११ जनाको एन्टिजेन, शुक्रबार १४ हजार १ सय ८२ जनाको पीसीआर र ६ हजार ६ सय ३१ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको छ ।

 

 

यसैबीच, देशभर शनिबार ५ हजार ४२ जनामा संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४ सय ७१ जनाको पीसीआर र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा पीसीआरमार्फत ३ हजार ५ सय ४० जना र एन्टिजेटमार्फत १ हजार ५ सय २ जनामा संक्रमण देखिएको हो ।

 

 

त्यस्तै, पछिल्लो २४ घण्टामा देशभर ८ हजार २ सय ४३ जना संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ८४ हजार ३ सय ७३ संक्रमित निको भएका छन् ।

 

 

पछिल्लो २४ घण्टामा देशभर ६८ संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ ।राजधानीबाट,