सभामुखले बोलाएको सर्वदलीय बैठक आज बस्दै
काठमाडौं,जेठ २८। सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको सर्वदलीय बैठक बोलाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जेठमा प्रतिनिधिसभा विघटन गरेपछि नियमित कानुन व्यवसायीसँग छलफलमा जुटेका सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका हुन् ।
आज दिउँसो संसद भवनमा रहेको ल्होत्से हलमा यो बैठक बोलाइएको छ । बैठकका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको सभामुखको सचिवालयले जानकारी दिएको छ ।
प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा अहिले सर्वोच्चमा संवैधानिक इजलासमा बहस भइरहेको छ । यही समयमा सभामुखले यही विषयमा आगामि कदम के हुने भन्नेबारे छलफल गर्न बैठक बोलाएका हुन् ।
८ जेठमा प्रतिनिधिसभा विघटन गरेर २६ कार्तिक र ३ मंसिरका लागि सरकारले चुनावको मिति घोषणा गरेको थियो । बैठकमा बोलाइए पनि प्रधानमन्त्री केपी शर्मा ओली यो बैठकमा नजाने उनको सचिवालयले यसअघि नै जानकारी दिइसकेको छ ।