मनाङेलाई कारवाही गर्न खेलकुद परिषदको माग,यस्तो छ,कारण

काठमाडौं,जेठ ३१। राष्ट्रिय खेलकुद परिषदले गण्डकी अनलाईन न्युज टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा गण्डकी प्रदेश सांसद एवं नवनियुक्त भौतिक पूर्वाधार मन्त्री राजीव गुरुङले अभिव्यक्त भएको अराजक एवं अशिष्ट भनाइबाट परिषद् स्तब्ध भएको जनाएको छ।

 

 

राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल तथा परिषद्का सदस्य राजेश गुरुङको नाम लिएर अत्यन्त अमर्यादित अशोभनिय लाल्छनायुक्त एवं घोर निन्दनीय अभिव्यक्ति सार्वजनिक भएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको परिषदद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख गरिएको छ।

 

 

हामीले परिकल्पना गरेको प्रजातान्त्रिक एवं सभ्य समाजले पचाउन नसक्ने खाल्को अभिब्यक्ति एउटा जनप्रतिनिधि एवं मन्त्रीबाट बाहिर आउनु आफैमा खेदजनक रहेको विज्ञप्तिमा जनाईएको छ।

 

 

विज्ञप्तिमा खेलकुदको विकास र विस्तारमा अनवरत लागि रहेका परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवाल तथा सदस्य राजेश गुरुङबाट यस्ता अभिब्यक्ति आउनु सम्पूर्ण खेल जगतको अपमान भएको महशुस भएको स्पष्ट पारिएको छ।

 

 

मन्त्री गुरुङबाट सार्वजनिक भएका अप्रजातान्त्रिक, असभ्य एवं गैरजिम्मेवार अभिब्यक्तिको राष्ट्रिय खेलकुद परिषद् घोर भत्सर्ना एवं निन्दा गर्दै उक्त भनाइले सम्पूर्ण नेपाली खेलकुद क्षेत्रको मानहानी भएको ठहर गर्दै दोषी उपर प्रचलित नेपाल कानून बमोजिम कानूनी कार्वाहीको समेत माग गरिएको छ।