बाढी पहिरोको वितण्डा १३ जिल्ला प्रभावित,६ जनाको मृत्यु,२७ जना वेपत्ता

काठमाडौं। मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् ।

 

 

सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर दुई जनाको ज्यान गएको छ । यसैगरी पाल्पा, कास्की, बाजुरा र डोटीमा एक एक जना गरी ६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

 

 

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बाढी पहिरोमा परेर ६ जनाको मृत्यु भएको बताए । बाढी तथा पहिरोमा परेका सिन्धुपाल्चोकमा ६६ जना, कास्कीमा १ जना, पाल्पामा १ जना र स्याङजामा १ जना गरी जम्मा ६९ जनाको उद्धार गरिएको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

 

 

बाढी पहिरोमा परी जाजरकोटमा पनि ७ जना बेपत्ता भएको नेपाल प्रहरीका एसएसपी तथा प्रवक्ता कुवेर कडायतले जानकारी दिए ।

 

 

सिन्धुपाल्चोक र जाजरकोटमा गरेर बेपत्ता भएकामध्ये १० जना पुरुष र ४ जना महिला छन् । बेपत्ताको खोजी कार्य जारी छ । बाजुरा, गोरखा, प्युठान र अर्घाखाँचीमा एक एक जना बेपत्ता भएका छन् ।

 

 

यसैगरी सिन्धुपाल्चोकमा ४ जना, डोटीमा २ जना, कास्कीमा १ जना र स्याङजा १ जना गरी बाढी तथा पहिरोमा परेर ८ जना घाइते भएका छन् ।

 

 

पहिरो तथा बाढीको कारण बन्द भएका विभिन्न स्थानका सडक प्रहरीले सुचारु गराएको छ । साथै वर्षाको कारण सिन्धुपाल्चोक, पाल्पा, रुपन्देही र नवरलपरासी (पश्चिम)लगायतका स्थानहरुमा पहिरो गई अवरोध भएको सडक हटाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । प्राप्त विवरण अनुसार बाढीका कारण देशभरमा १ सय ६५ घर डुबानमा परेका छन् ।

 

 

यसै गरेर ५३ घर, ३ वटा गोठ, ५ वटा पुल र ६ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपद्का घटनाबाट ६२ घर परिवार विस्थापित भएका छन् भने ८७ वटा पशु चौपायको मृत्यु भएको छ ।

 

 

अविरल वर्षाका कारण दुई दिनको अवधिमा देशभर ३३ जिल्लामा ९९ वटा बाढी, पहिरो, सडक अवरोध, डुबान र कटान जस्ता विपद् जन्य घटना भएका छन् ।

दर्जनौं ठाउँमा सडक अवरुद्ध

निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभरका दर्जनौं ठाउँमा सडक अवरुद्ध भएको छ । वर्षापछिको बाढी र पहिरोले ठाउँठाउँका सडक र पुलमा क्षति पु-याएको छ ।

 

 

सडक विभागका अनुसार पुष्पलाल राजमार्ग, पूर्वपश्चिम राजमार्ग, पृथ्वी राजमार्ग, अरनिको राजमार्ग आदिका विभिन्न ठाउँमा क्षति पु-याएको छ ।

 

 

बाढी र पहिरोका कारण बागलुङस्थित पुष्पलाल (मध्य पहाडी) राजमार्गमा सडक अवरुद्ध भएको छ । सिन्धुपाल्चोकको पाँचखाल मेलम्ची टिम्बु सडकखण्डस्थित मेलम्चीमा अवरुद्ध हुन पुगेको छ । यस्तै, पाल्पास्थित तानसेन–रिडी– कोरला सडकखण्डको ढुंगााखानेमा पनि अवरुद्ध भएको छ ।

 

 

बाजुरास्थित साँफेवगर–मार्तडी–कोल्टी सडकको हड्डे खोला, रिला र वलेना सिद्धार्थ राजमार्गको पाल्पास्थित गौडेपुल कालिमाटी सिसुवामा पनि सडक अवरुद्ध भएको छ ।

 

 

मनाङको डुम्रे–बेहीसहर–चामेस्थित तिमाङ छहरा र बाजुरास्थित साँफेबगर–मार्तडी–कोल्टी सडकको बार्जुगाड, बल्देमा पनि सडक अवरुद्ध भएको छ ।

 

 

सिद्धार्थ राजमार्गस्थित पाल्पाको पिपलडाँडामा भने बुधबारसाँझसम्म एकतर्फी सवारी साधन सुचारु भएको छ । कर्णाली राजमार्गको दैलेखस्थित बांगेसिमल, कालाखाला सडकखण्ड, कालाखाला सेन सकडखण्ड र दराबरे र बोटखालामा पनि एकतर्फी सवारी सुरु भएको छ ।

 

 

बैतडीस्थित खोड्पे–चैनपुरको ढोल्यामोड पनि बुधबारसाँझदेखि एकतर्फी सुरु भएको छ । अरनिको राजमार्गस्थित सिन्धुपाल्चोकको डमसाइटमा पनि एकतर्फी रूपमा सुरु भएको छ भने राप्ती राजमार्गस्थित सल्यानको कपुरकोट र कालिकोटस्थित बालीघाट, धनाडा, भिग्म सडकमा पनि एकतर्फी रूपमा सवारीसाधन सुचारु भएको छ ।

 

 

सडक विभागले पूर्वपश्चिम राजमार्गस्थित नवलपुरको थुम्सी र खोड्पे चैनपुर (बझाङ)स्थित दुम्री खोाल र कचालीमा पनि एकतर्फी सवारी सुचारु भएको छ ।

 

 

सडक विभागले धादिङको जोगीमारा, पूर्वपश्चिम राजमार्गस्थित नवलपुरको गैंडाकोट, धुम्सी, राप्ती राजमार्गस्थित सल्यानको संखमुलको भने दुवैतर्फी सवारी साधन सुचारु गरिएको छ ।राजधानी दैनिकमा खबर छ।